हेटौंडामा आगामी माघ ११ गतेदेखि औद्योगिक व्यापार मेला (महोत्सव) आयोजना हुँदैछ । कोभिड–१९ संक्रमणका कारण पछिल्लो ३ वर्षदेखि कुनै पनि मेला, महोत्सव आयोजना भएका छैनन् । त्यसअघि हेटौंडामा वर्षेनि व्यापार मेला हुने गरेको थियो । मकवानपुर उद्योग वाणिज्य संंघ तथा निर्माण व्यवसायी संघ मकवानपुरले एक–एक वर्ष बिराएर व्यापार मेला आयोजना गर्दा वर्षेनि मेला हुने गर्दथ्यो । करिब ३ वर्षको अन्तरालपछि यो वर्ष हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुँदैछ ।
मकवानपुर उद्योग वाणिज्य संघले आगामी माघ ११ गतेदेखि २३ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन गर्ने निर्णय गरेको छ । हेटौंडा–१० स्थित टिसिएन नजिकको चौरमा महोत्सव आयोजना हुँदैछ । विगतमा व्यापार महोत्सवको नाममा सांगीतिक र अन्य मनोरञ्जनमा केन्द्रित हुने गरेका कारण मेला उद्देश्यमूलक बन्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तै, मेलामा स्टल राखेर जथाभावी सामान बिक्री गरिँदा मेलाका कारण स्थानीय व्यवसायीको व्यापार व्यवसायमा नकारात्मक असर पर्ने गरेका कारण पनि व्यवसायी मेलाको उद्देश्यप्रति विश्वस्त हुन सकिरहेका थिएनन् । अझ मेलाको आर्थिक पक्ष पारदर्शी नहुने समस्या पनि उत्तिकै देखिने गरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा थुप्रै पटक राष्ट्रिय औद्योगिक व्यापार मेला भएका छन् । ती मेला, महोत्सवहरुमा जिल्लाका सरकार तथा गैरसरकारी निकायको सहकार्य रहने गरेको थियो । मेलाको व्यवस्थापन तथा प्रवद्र्धनमा धेरै निकायले सहकार्य तथा हातेमालो गर्ने गरेको अवस्थामा पनि मेला उद्देश्यमूलक र प्रवर्द्धनात्मक बन्न नसकेको विगतलाई मध्येनजर गर्दै यस पटक आयोजना हुन लागेको मेलाको विरोध गरिएको छ । मेला आयोजक मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत्कै वस्तुगत संघको रुपमा रहेको कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले मेलाको विरोध गर्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै मेलालाई प्रवद्र्धनात्मक र प्रदर्शनात्मक बनाउन माग गरेको छ । मेलालाई व्यापार महोत्सवको रुपमा नभई प्रवर्द्धनात्मक महोत्सवको रुपमा मात्रै सञ्चालनका लागि सहजीकरण गरिदिन माग गरिएको हो । देशको अर्थतन्त्र प्रतिकूल बनिरहेको अवस्थामा स्थानीय व्यवसायी धराशायी बनिरहेको र व्यापार मेलाले जिल्लाका एक हजार कपडा तथा तयारी पोशाक व्यवसायी मारमा पर्ने भन्दै मेलाको बिरोध गरिएको छ ।
जुनसुकै नाम र उद्देश्य राखिए पनि व्यापार मेलाको मुख्य उद्देश्य भनेको आर्थिक कारोबार नै हो । यस्तै, मेला र महोत्सव भन्नेबित्तिकै नाच्ने, गाउने, पिङ्ग खेल्ने, मनोरञ्जन गर्ने, खाने र तिनैमा अवलोकनकर्तालाई आकर्षित गरी पैसा कमाउने प्रवृत्ति मौलाउँदै गएको छ । अर्कोतिर, व्यवसायीसँग स्टकमा रहेका र नबिकेका सामान विभिन्न आकर्षण र प्रलोभन दिएर बिक्री गर्ने स्थल यस्ता मेला, महोत्सव बन्ने गरेका छन् । मेला, महोत्सवमा स्थानीय व्यवसायीको सहभागिता न्यून हुने भएका कारण यस्ता मेलाले उनीहरुको खासै हित गर्दैन । मेलामा हुने आर्थिक कारोबारको ठूलो हिस्सा जिल्ला बाहिरका व्यवसायी तथा मनोरञ्जनात्मक स्टल राख्नेहरुले लैजाने गरेका कारण पनि स्थानीय व्यवसायीले बिरोध गरेको मान्न सकिन्छ ।
व्यवसायीकै हक हितका लागि क्रियाशील संघसंस्थाले आयोजना गर्ने यस्ता मेला महोत्सवले स्थानीय व्यवसायीको हित गर्नुपर्छ । मेलामा राखिने स्टलमा स्थानीय उद्योगी, व्यवसायीको सहभागिता रहनुपर्छ । स्थानीय कृषि तथा औद्योगिक उत्पादनको बजारीकरण तथा प्रवर्द्धनमा महोत्सव केन्द्रित हुनुपर्छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महोत्सव उपयोगी हुनुपर्छ । विगतका महोत्सवमा जस्तो उत्पादन प्रवर्द्धनभन्दा खेल र मनोरञ्जनलाई बढी प्राथमिकता दिइयो भने महोत्सवको सार्थकता रहँदैन । महोत्सव आयोजना गर्नु एउटा सकारात्मक प्रयास हो भने त्यसलाई उद्देश्यमूलक र प्रवर्द्धनात्मक बनाउन सक्नु यसको सफलता हुनेछ ।











