निःशुल्क पशु स्वास्थ्य शिविरमा सहभागीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका अन्तर्गतको पशु सेवा केन्द्र हेटौंडा ८ कमानेको आयोजनामा आज बुधबार एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ । चालु आर्थिक वर्षकोे स्वीकृत कार्यक्रम अन्तर्गत शिविर भएको हो । शिविरमा एक सय जना किसानका ५ सय २३ वटा पशुपन्छीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराईएको हेटौंडा उपमहानगरपालिकाकी पशुपन्छी विकास शाखाकी प्रमुख गंगा चौलागाईले जानकारी दिनुभयो ।

शिविरमा एक सय जना कृषकले सेवा लिएका छन् । जसमा २ सय ५० वटा गाई, १ सय ५० वटा बाख्रा, १ सय ५ वटा कुखुरालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराईएको छ । त्यसैगरी, शिविरमा १८ वटा कुकुरलाई रेविजको भ्याक्सीन लगाईएको प्रमुख चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ६५ हजार रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध गराईएको छ । शिविर हेटौंडा ८ का वडा अध्यक्ष रामकृष्ण थापाको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाइको प्रमुख आतिथ्यतामा भएको हो । चालु आर्थिक वर्षमा हालसम्म हेटौंडा उपमहानगरपालिकाले ९ वटा वडामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उपमहानगरपालिका भित्रका सबै वडामा शिविर आयोजना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हेटौंडा उपमहानगरपालिका भित्रका पनि विकट क्षेत्रमा रहेका वडाहरुमा घर–घरमा नै पशु स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको छ । घुम्ति शिविर कार्यक्रम भएकोले हामी विकट क्षेत्रहरुमा घरमा नै पुगेर किसानहरुलाई सेवा उपलब्ध गराउँछौं । शहरी क्षेत्रमा भन्दा विकट क्षेत्रमा पशुपन्छी धेरै हुने भएको र सेवा पाउने अवस्था पनि कम रहेकोले उनीहरुलाई ध्यानमा राखेर घरमै सेवा उपलब्ध गराउने योजनामा छौं ।” हेटौंडा उपमहानगरपालिकाको आयोजनामा १० वटा वडामा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।