हेटौंडाः पछिल्लो समय मकवानपुरका सहकारी संस्थाहरुले आफूले लगानी गर्ने ऋणको सुरक्षाका लागि बीमा गर्ने क्रम बढेको छ । ऋणको बीमा गर्दा विशेषतः ऋणीको मृत्यु भएमा बीमाबाट ऋण रकम असुली हुनुका साथै ऋणीको मृत्युपछि परिवारका अन्य सदस्यलाई भार पर्दैन ।
यसै क्रममा हेटौंडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यलाई लगानी गरेको ऋण रकमको बीमा गर्दा ऋणीको मृत्यु भए पनि ऋण लगानी भने फिर्ता भएको छ । हेटौंडा–२, वनस्खण्डीकी ऋणी पूर्णलक्ष्मी राजथलाको डेंगु संक्रमणका कारण मृत्यु भयो । २ लाख ५० हजार रुपैयाँ ऋण लिनुभएकी राजथलाको मृत्यु हुँदा २ लाख २२ हजार ६ सय १५ रुपैयाँ ऋण चुक्ता गर्न बाँकी थियो ।
राजथलाको मृत्यु भएपछि बीमा कम्पनिले दुई लाख ५० हजार रुपैयाँ नै फिर्ता गरिदियो । दुर्घटनामा मृत्यु हुँदा भने ऋण रकमको दोब्बर भुक्तानी हुने व्यवस्था छ । राजथलाले लिनुभएको कुल ऋण बराबरकै रकम बीमा कम्पनिबाट आएपछि सहकारीले चुक्ता गर्न बाँकी रकम असुल गरी बाँकी रहेको २७ हजार ३ सय ८५ रुपैयाँ हकवालाका छोरा सुनिल राजथला र शुक्र राजथलालाई हस्तान्तरण गरेको छ । सहकारीका अध्यक्ष भोजमान श्रेष्ठले छोराहरुलाई बाँकी रकम गत बिहीबार हस्तान्तरण गर्नुभएको हो ।











