पत्रकार सम्मेलनपछि विरोध र्याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै व्यवसायीको समूह ।

हेटौंडाः देशको अर्थतन्त्र असहज अवस्थामा रहेको उल्लेख गर्दै व्यवसायीले बैंकको व्याजदर एकल अंकमा कामय गर्नुपर्ने माग गर्दै संघीय सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् । मकवानपुरका व्यवसायीको छाता संगठनहरुले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी आफ्ना आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री र गभर्नलाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरेर व्यवसायीको समूह हेटौंडा बजार क्षेत्रमा र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेको हो । व्यवसायीले कालो व्यानरमा चर्को व्याजदरको विरोध गर्नुका साथै प्लेकार्ड प्रदर्शन गरेका थिए । आर्थिक संकटको मारमा परेका व्यवसायीले आत्महत्यासम्म गरेको घटनालाई व्यवसायीले उल्लेख गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पेश गर्नुअघि ज्ञापनपत्र वाचन गर्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता ।

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एसोसिएसनसहित मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गतका वस्तुगत संघसमेतले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएको हो । व्यवसायीले अर्थतन्त्र सामान्य अवस्थामा अपुगुन्जेल चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ कार्यान्वयन नगर्न, पुँजीगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्न सरकारसँग माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भेला भएका व्यवसायीहरु ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको नेतृत्वमा उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठ, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष दिलिशगोविन्द जोशीको पनि सहभागितामा पत्रकार सम्मेलन भएको हो । व्यवसायीले पुस २० गतेसम्म आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । भोलि पुस १८ गते व्यवसायी संघको कार्यालयमा कालो व्यानर राखेर विरोध गर्ने, पुस १९ गते उद्योगी, व्यवसायीले कालो पट्टी बाँधेर विरोध जनाउने, पुस २० गतेसम्म पनि व्यवसायीका माग सम्बोधन नभए चरणवद्ध आन्दोलनको तयारी गर्ने जनाइएको छ ।