हेटौंडाः हेटौंडा १० बसपार्कमा रहेको हेटौंडा डान्सबारमा झगडा हुँदा ३ जना घाईते भएका छन् । आज आइतबार बिहान १ बजेको समयमा मादकपदार्थ सेवन गरी झगडा हुँदा डान्सबारको संचालकसहित ३ जना घाईते भएका हुन् ।
हेटौंडा डान्सबारमा सोही स्थान बस्ने बस्ने ३७ वर्षीय बिक्रम श्रेष्ठ, आनन्द टोल बस्ने ४१ वर्षीय बिष्णुलाल योन्जन, ३१ वर्षीय निमा योन्जन र हेटौंडा–१ बस्ने ४० वर्षीय सुरेश महर्जनले मापसेगरी डान्सबारमा बिल तिर्ने क्रममा झगडा भई कुटपिट भएको थियो । झगडाबाट डान्सबारमा कार्यरत ३ जना घाइते भएका हुन् । झगडाको क्रममा डान्सबार संचालक हेटौंडा १ बस्ने ४० वर्षीय संजय लामा, कर्मचारीहरु हेटौंडा ४ बस्ने २४ वर्षीय बिजय कुमार मोक्तान र २८ वर्षीय रोशन श्रेष्ठ घाइते भएका हुन् ।
घटनाबाट संचालक लामाको निधारमा चोट लागेर ५ वटा टाका लगाईएको छ भने कर्मचारी मोक्तानको नाक र ओठमा धारिलो हतियारले काटेको र १७ वटा टाका लगाएको प्रहरीले जनाएको छ । घाइते रोशन श्रेष्ठको अवस्था सामान्य रहेको छ । घटना स्थलबाट धारिलो हतियार(चक्कु) एक थान फेला पारी प्रहरीले नियन्त्रणमा राखेको छ । घाइते ३ जनाको उपचार हेटौंडा अस्पतालमा भईरहेको छ । कुटपिटमा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।











