बकैया गाउँपालिका–५, श्रीपुर–तीनतलेमा ग्रावेल गरिँदै ।

हेटौंडाः हेटौंडा–सिन्धुली सडकखण्डको मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५, श्रीपुर–तीनतलेमा ग्रावेल गरिएको छ । नियमितजसो सवारी साधन दुर्घटना हुन थालेपछि सडकखण्डमा ग्रावेल गरिएको बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो ।

उक्त सडकखण्डमा शुक्रबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त सडकखण्डमा अहिले एकापट्टिको साइडमात्र स्लाब ढलान गरिएको छ भने सडकको एक साइडमा बाँकी छ । नियमितजसो हुने दुर्घटनालाई मध्येनजर गरेर आफूले बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानलाई सहयोगका लागि आग्रह गरेको बकैयाका उपाध्यक्ष खत्रीले बताउनुभयो । बागमती गाउँपालिकाले काम सम्पन्न नभएसम्मका लागि ग्रेडर, एक्साभेटर, जेसीबी, रोलर, पानी ट्याङ्की र ट्रिपर उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

सवारी दुर्घटना हुँदा प्रायः बकैया र बागमतीकै मान्छेहरु पर्ने भएकाले दुबै पालिकाको समन्वयमा सकडखण्डमा ग्रावेल गरिएको उपाध्यक्ष खत्रीले बताउनुभयो । धरान–चतरा सडकखण्डको ठेकेदारले पूर्णरुपमा काम नगर्दा अहिले सवारी दुर्घटना भइरहेको उहाँको आरोप छ । यसअघि पालिकाको प्रयासमा एक साइड स्लाब ढलान भएको बताउनुहुँदै उहाँले अब बाँकी साइड स्लाब ढलानका लागि पहल गरिने बताउनुभयो ।

फाष्टट्रयाक सडक निर्माणका कारण पनि उक्त सडकखण्डको काममा अवरोध भइरहेको उहाँले बताउनुभयो । यस क्षेत्रको सडक निर्माण चाँडै सम्पन्न गर्न सम्बन्धित ठेकेदारलाई ध्यानाकर्षण गराउने उहाँले बताउनुभयो । दुर्घटना सम्भावित क्षेत्रहरुमा सूचना बोर्डहरु राखिने उहाँको भनाइ छ ।