हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामासहित सरसफाईमा सहभागीहरु ।

हेटौंडाः कार्यभार सुरु गरेबाटै हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको “सफा हेटौंडा अभियान” लाई सार्थक बनाउन हेटौंडा उपमहानगपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा आफै शनिबार बिहान सडकमा देखिनुहुन्छ ।

शनिबार बिहान सबेरै हातमा कुच्चो बोकेर हेटौंडा–४ को त्रिदेब मार्गको सडक सफा गर्ने अभियानमा रहनुभएकी उहाँसँगै स्थानीय बासिन्दाको साथ रहेको थियो । उहाँसहित महिला टोली सडक सरसफाईको काममा रहँदा दायाँ–बायाँका घरका बासिन्दा दर्शक मात्र बनिरहेको देखिन्थ्यो । उपमहानगरले सुरु गरेको अभियानलाई हरेक साताको शनिबार कार्यान्वयनमा ल्याउन नगर प्रमुख लामा आफै खटिरहनुभएको छ ।

उहाँको अभियानमा उपमहानगरपालिकाको वातावरण शाखाका कर्मचारी, टोल विकास संस्थाका पदाधिकारी र सचेत स्थानीयको स्वस्फूर्त उपस्थिति रहँदै आएको छ । नगरप्रमुख लामा आफैँ सडकमा फोहर टिप्ने र बडार्ने गर्दैगर्दा मर्निङ वाकमा हिँडेकाहरु पनि साथ दिन बाध्य देखिन्थे । नमस्कार भन्दै नजिकिएका केहि महिलालाई “हिँड्ने मात्र होइन, बजारको सुन्दरता बढाउन पनि लाग्नुप¥यो” भन्दै नगरप्रमुख लामाले अभियानको सहयात्री बनाउनुभयो ।

उपमहानगरपालिको अगुवाईमा हरेक शनिबार गरिने अभियानलाई सफल र हेटौंडालाई सफा शहरको रुपमा विकास गर्नका लागि नगरप्रमुख लामाले अगुवाई गर्दै आइरहनुभएको छ । शनिवार हेटौंडा–४ को परिजातपथ र त्रिदेब मार्गमा सरसफाई गरिएको छ । हातमा कुच्चो बोकेर सडक बडार्ने, सडक छेउमा भएको फोहर संकलन गर्ने र सडक छेउमा रहेका बिरुवाको गोडमेल सहितको काम अभियानको क्रममा गरिएको थियो ।
अभियानलाई साझा बनाउनका लागि “टुगेदर वि क्यान” को नारा दिइएको छ । “शनिबार एकदिन नगर प्रमुख नै सडकमा आउनु सांकेतिक विषय हो अन्य दिन स्थानीयले जिम्मेवारीबोध गर्नुहुन्छ भन्ने आशा गरेका छौं”, नगर प्रमुख लामाले भन्नुभयो, “उपमहानगरले अभिभावकत्व लिने हो, दिनुहुँ मैदानमै गएर काम गर्ने अवस्था नबन्न सक्छ ।”

उपमहानगरले समुदायसँगै जोडेर अभियान सञ्चालन गर्दा स्थानीय बासिन्दालाई पनि जिम्मेवारीको महसुस हुने उहाँको बुझाइ छ । अहिले उपमहानगरमा रहेका टोल विकास संस्थाले टोल–टोलमा पुगेर अभियानलाई सार्थक बनाउन लागिरहेको र यसको परिणाम बिस्तारै देखिँदै जाने बताइएको छ । हामीले हाम्रो पहिचानको रुपमा रहेको सुन्दर हरित नगरीलाई थप प्रभावकारी बनाउन अभियान थालेको नगर प्रमुख लामाले दावी गर्नुभएको छ ।