हेटौंडाः संस्थागत विद्यालयका शिक्षकहरुको क्षमता अभिवृद्वि कार्यशाला हेटौंडामा सुरु भएको छ । संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समितिको आयोजनामा बिहीबारदेखि २ दिने क्षमता अभिवृद्वि कार्यशाला सुरु भएको हो ।

कार्यशालामा मन्तव्य राख्नुहुँदैनेपाल शिक्षक संघका महासचिव सोमनाथ गिरीले नेपाली शिक्षकहरुलाई भावनात्मकरुपमा एकीकृत गर्न र शैक्षिक क्षेत्रको विकृति तथा बेथिति अन्त्यका लागि कार्यशालाले सहयोग पुग्ने बताउनुभयो । संविधानमा निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिए पनि कार्यान्यवन हुन नसकेको उहाँको भनाइ छ । निजी विद्यालयमा मात्र नभई सामुदायिक विद्यालयमा समेत शिक्षा बेच्ने कार्य भइरहेको उहाँको दावी छ । अत्यन्तै कमजोर शिक्षा क्षेत्रलाई स्थानीय तहमा बुझाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले चुनौतीसँगै शैक्षिकस्तर उकास्न कसरी स्थानीय तहसँग संवाद र सहकार्य गर्ने भन्ने विषयमा कार्यशालाले सहयोग पुग्ने बताउनुभयो ।


कार्यशालामा इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाले मकवानपुरको १० वटै पालिकाहरुमा संस्थालाई विस्तार गर्न नसकिएको बताउनुभयो । मकवानपुर जिल्लामा करिब ९० देखि ९५ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । जिल्लाको कुनै पालिकामा संस्थागत विद्यालय नै नभएको भन्दै विद्यालय संख्या न्यून हँुदा विस्तारमा समस्या भएको उहाँको भनाइ छ । नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष बिष्णु भण्डारीले कतिपय संस्थापक विद्यालयका शिक्षक न्यून पारिश्रमिकमा शिक्षण गर्न बाध्य रहेको बताउनुहुँदैअवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । इस्टुका केन्द्रीय उपाध्यक्ष दीपक गौतमले नेतृत्व विकास गर्ने उद्देश्यले कार्यशाला सुरु गरिएको बताउनुभयो । शुक्रबारसम्म हुने कार्यशालामा बिहीबार सहजकर्ता मोतीराम फुयाँल र सागरनाथ प्याकुरेलले क्षमता अभिवृद्विबारे सहजीकरण गर्नुभएको छ । आफ्ना समस्यालाई समूहमा छलफल गरी कसरी समाधान गर्ने भन्ने विषयमा जानकारी गराइएको छ ।

इस्टुका केन्द्रीय अध्यक्ष होमकुमार थापाको सभाध्यक्षमा कार्यशाला भएको हो । कार्यशालामा इस्टुका केन्द्रीय महासचिव कुस्मिता तिवारी, केन्द्रीय कोषाध्यक्ष इन्दिरा धमला, केन्द्रीय सदस्य सुदिप बर्तौला, नेपाल शिक्षक संगठनकी लक्ष्मी गजुरेल, इस्टुका नगर अध्यक्ष सीएम रिमाल, आइटी कन्सल्टेन्ट सागरनाथ प्याकुरेललगायतको आतिथ्य रहेको थियो ।