सोनाम ल्होछारको अवसरमा आयोजना गरिने साँस्कृतिक कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकहरु ।

हेटौंडाः मकवानपुर तामाङ कलाकार संघको आयोजनामा २८५९ औं ह्योयी/तावार ल्हो (खरायो वर्ष) सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम–२०७९ हुने भएको छ । संघको भवन निर्माण सहयोगार्थ सोनाम ल्होछार विशेष वृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो । बिहीबार पत्रकार सम्मेलनमार्फत संघका महासचिव रविन्द्र थिङले आगामी माघ ८ गते भवन निर्माण सहयोगार्थ साँस्कृतिक कार्यक्रम हुने बताउनुभयो ।

उहाँले भवन निर्माण सहयोगार्थ चिठ्ठा कार्यक्रम, साँस्कृतिक कार्यक्रमको विशेषता रहेको बताउनुभयो । ३ वटा चिठ्ठामा २ वटामा जिन्सी सामग्री र एक वटामा ५ सय रुपैयाँ हुने जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुरे तामाङ कलाकारहरुको गायन, नृत्य र अभिनयको प्रस्तुति, तामाङ झाँक्री प्रदर्शन, तामाङ भेष-भूषा र खानाका स्टलहरु रहने बताउनुभयो । यस्तै तामाङ जातिको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रवद्र्धन, नवप्रतिभा मकवानपुरे तामाङ कलाकारहरुको कलालाई प्रोत्साहन र ल्होछार विषयक जागरण ल्याउन कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ ।

केही वर्षदेखि कोरोना महामारीका कारण साँस्कृतिक कार्यक्रम हुन सकेको थिएन जसकारण यसवर्ष एउटै मञ्चमा सबै तामाङहरुको भेला गराई मनोरञ्जन दिलाइने संघका अध्यक्ष धिरेन्द्र लामाले बताउनुभयो । कार्यक्रममा करिव ४ लाख रुपैयाँ खर्च हुने उहाँले जानकारी दिनुभयो । हेटौंडा–१० स्थित टिसिएनचौरमा हुने कार्यक्रममा प्रवेश निशूल्क हुने उहाँले बताउनुभयो ।