हेटौंडाः पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको स्वीकृत कार्यक्रम अनुसार प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी आज हेटौंडामा भएको छ । कार्यक्रम बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा मन्त्री हुमागाईले कार्यालयलाई व्यवस्थित रुपमा संचालन गर्ने भूमिका कर्मचारीको भएको दाबी गर्नुभएको छ । उहाँले सबै कर्मचारीहरुलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गर्नुभयो । राजनीतिक नेतृत्वले योजना निर्माण गर्ने भन्दै उहाँले कर्मचारीले त्यसको कार्यान्वयन गर्ने धारणा राख्नुभयो । उहाँले समीक्षा गोष्ठीमा पेश भएका प्रतिवेदनमाथि देखिएका कमी कमजोरीहरुलाई सच्याएर काम गर्न अनुरोध गर्नुभएको छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका प्रमुख बज्रकिशोर ठाकुरको सभाध्यक्षतामा भएको कार्यक्रममा पशु सेवा तालिम केन्द्र ललितपुरका पशु विकास अधिकृत डा. शुसिला श्रेष्ठ, मत्स्य विकास केन्द्र चितवनका वरिष्ठ मत्स्य विकास अधिकृत माधव दाहाल, बाख्रा फार्म चित्लाङका होम बहादुर थापा लगायतले प्रथम चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरण कुमार पाण्डे, महाशाखा प्रमुख झलकनाथ कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।











