हेटौंडाः बागमती प्रदेशको उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाहेक १० जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० को ५ महिनामा ६ सय ३९ वटा सवारी दुर्घटनामा परी १ सय ४२ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १ हजार ४ सय २३ जना मानिस घाइते भएका छन् । बिहिबार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधीमा भएको घटना विवरण सार्वजनिक गर्नुहुँदै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सूचना अधिकारी तथा वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रदेशभर १ सय ४२ जनाको मृत्यु भएको बताउनुभयो ।
गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ७ सय ९८ वटा दुर्घटना हुँदा ४ सय १३ जनाको मृत्यु भएको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा ७ सय ९३ वटा दुर्घटना हुँदा ४ सय ४ जनाको मृत्यु र आर्थिक वर्ष २०७७/७८ मा १ हजार ५ सय १२ वटा दुर्घटना हुँदा ३ सय ३५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा १ हजार १ सय १५ दुर्घटना मानवीय लापरबाहीका कारण, ६ सय १० सडकको कारण र ६७ यान्त्रिक कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ ।