हेटौंडाः हेटौंडा-८ स्थित कमानेमा रहेको माउन्ट एभरेष्ट ईङ्लिस बोर्डिङ स्कुलद्वारा हेटौंडाको २ वटा बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । विद्यालयले शनिबार रातोमाटेको दिव्यसेवा निकेतन र आइतबार ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको हो ।
शिक्षक, विद्यार्थी र अभिभावकबाट संकलन भएको दान बृद्धाश्रमलाई सहयोग गरिएको माउन्ट एभरेष्ट ईङ्लिस बोर्डिङ स्कुलका शिक्षक सुस्मा थिङले जानकारी दिनुभयो । दिव्यसेवा निकेतनलाई करिब २० हजार रुपैयाँको खाद्यान्न र ओम बृद्धाश्रमलाई करिब १५ हजार रुपैयाँको खाद्यान्न आश्रम परिसरमै पुगेर सहयोग गरिएको उहाँले बताउनुभयो । आश्रमलाई नुन, विस्कुट, पिठो, आलु, प्याज र चामल सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै हेटौंडा-८ स्थित कमानेमै रहेको निमगंगा प्राथमिक विद्यालयलाई नगद १० हजार रुपैयाँ सहयोग गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । सामाजिक कार्यप्रति विद्यार्थीलाई उत्तरदायी बनाउन गत मंसिर २५ गतेदेखि पुस १ गतेसम्म दान संकलन कार्यक्रम संचालन गरिएको थियो । विद्यालयमा ३५ हजार रुपैयाँको खाद्यान्न संकलन भएको थियो ।