Home अर्थ/व्यापार आविष्कार केन्द्रलाई बचत संघद्वारा ३० हजार सहयोग

आविष्कार केन्द्रलाई बचत संघद्वारा ३० हजार सहयोग

हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले राष्ट्रिय आविष्कार केन्द्रलाई ३० हजार रुपैयाँ सहयोग गरेको छ । देशमै विज्ञान र प्रविधिको क्षेत्रमा नविनतम् आविष्कारको कार्य गर्न भनी महावीर पुनले स्थापना गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) निर्माण गरी सरकार र स्वास्थ्य सेवा प्रदायक संस्थालाई सहयोग गरिरहेकोले आविष्कार केन्द्रको उक्त कार्यको सराहना गर्दै सहयोग गरिएको संघले जनाएको छ ।
संघले बिहिबार आविष्कार केन्द्रको खातामा रकम जम्मा गरिदिएको हो । संघले आफ्नै बजेट र संघमा आवद्ध प्रारम्भिक सहकारी संस्थासँग सहयोग संकलन गरी कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न स्थानीय तहले सञ्चालन गरेको अभियानमा मकवानपुरका दसवटै स्थानीय तहलाई समेत सहयोग गरिरहेको छ । संघले बिहिबार नै मकवानपुरको कैलाश गाउँपालिकालाई २८ हजार छ सय रुपैयाँ र राक्सिराङ गाउँपालिकालाई ३१ हजार छ सय रुपैयाँ सहयोग गरेको छ । यसअघि संघले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिकालाई सहयोग गरिसकेको छ ।

Exit mobile version