नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिँदै प्रहरी ।

हेटौंडाः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौंडा बसपार्कमा चक्काजाम गरेको छ । नेकपा र सरकारबीच भएको तीन बुँदे सहमती कार्यान्वयनका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्रको विरोध गर्दै एक घण्टा चक्काजाम गरेको हो ।

तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले राष्ट्रपती समक्ष पेश गरेको अध्यादेश स्वीकृत गराउनको लागि पुस १ देखि पुस ५ गतेसम्मको विभिन्न किसिमका दबाबमुलक कार्यक्रम नेकपा मकवानपुरले गर्दै आएको हो । नेकपा मकवानपुरले पाचौं दिन आज बुधबार १ घन्टे चक्काजाम कार्यक्रम हेटौंडा–१०, बसपार्क स्थित पूर्वपश्चिम राजमार्गको सडक खण्डमा गरेको हो । जिल्ला सचिवालय सदस्य विवेक सीले सन्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राम सीले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको सम्बोधन गर्दै उहाँले राष्ट्रपती समक्ष पुगेको अध्यादेश यथाशीघ्र पास गरी नेकपासँग गरेको तीन बुँदे सहमती कार्यान्वयन गर्न जोड्दार माग गर्नुभएको छ । अझै पनि तीन बुँदे सहमती कार्यान्वयनमा सरकारले आलटाल गरे मसाल, एक घण्टे चक्काजाम होइन देशमा आगो बल्ने, देश नै ठप्प हुने चेतावनी दिनुभएको छ । जसको कारण सरकारले अप्रिय क्षती व्यहोर्नुपर्ने पनि उहाँले दाबी गर्नुभयो । यसर्थ देशमा अशान्ति निम्त्याउने काम सरकारले नगर्न, नेकपासँग गरेको सहमती ईमानदारीका साथ यथाशीघ्र कार्यान्वयन गर्न उहाँले अनुरोध गर्नुभएको छ ।