गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुबै प्रणालीको औपचारिक परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरेपछि निर्वाचन सम्पन्न भएको हो । निर्वाचनका सबै कार्य सम्पन्न भएपछि अहिले संघीय प्रतिनिधिसभा तथा प्रादेशिक व्यवस्थापिका बैठकको तयारी भइरहेको छ । यसका साथै संघीय तथा प्रादेशिक सरकार गठनको विषयले पनि राजनीतिक वृत्तमा निकै चर्चा पाइरहेको छ । यसपटकको निर्वाचन परिणामले कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त भएको छैन ।
दलहरुबीच गठबन्धन गरेर निर्वाचनमा होमिए पनि सरकार गठनमा अर्कै गठबन्धन बन्न सक्ने सम्भावना पनि रहेको छ । संघीय सरकारका साथै सातवटै प्रदेशको सरकार गठनमा दलहरुबीच निकै रस्साकस्सी बन्ने सम्भावना निर्वाचन परिणामले संकेत गरेको छ । सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दिएर आह्वान गरिसकेकी छन् । संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आइतबार राष्ट्रपतिले आह्वान गरेकी हुन् । प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने गरी राष्ट्रपतिबाट आह्वान भएको छ ।
निर्वाचन आयोगले गत मंसिर २८ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको भोलिपल्ट आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश गरेको थियो । पुस २ शनिबार आयोगले सातवटै प्रदेशका प्रमुखलाई सम्बन्धित प्रदेशको निर्वाचन परिणाम प्रतिवेदन बुझाएको छ । आयोगले बुझाएको प्रतिवेदनअनुसार बागमती प्रदेशको प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले २५ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले १४, नेकपा एमालेले १३ सिट जितेको छ । राप्रपा ७ र नेकपा एकीकृत समाजवादी ५ सिटमा विजयी भएको छ । बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले १–१ सिट जितेको छ । कुल ११० सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फ प्रदेशमा नेकपा एमालले सबैभन्दा बढी १४ सिट जितेको छ । नेपाली कांग्रेसले १२, माओवादी केन्द्र ७, राप्रपा ६, एकीकृत समाजवादी २, नेपाल मजदुर किसान पार्टी २ र हाम्रो नेपाली पार्टीले एक सिट प्राप्त गरेको छ ।
निर्वाचन परिणामअनुसार बागमती प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सभासद निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनमा सहभागी कांग्रेस, माओवादी र समाजवादीको प्राप्त सिट संख्या जोड्दा बागमती प्रदेशमा सहजै बहुमत पुग्ने देखिएको छ । यसले प्रदेशमा गठबन्धनकै सरकार गठन हुने सम्भावना अधिक भए पनि मुख्यमन्त्री कुन दलको को बन्ने भन्ने विषयले किचलो हुनसक्ने देखिन्छ । संघीय सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भइसकेको अवस्थामा अब प्रदेश प्रमुखहरुबाट प्रदेश सरकार गठनका लागि पनि आह्वान हुने क्रम सुरु हुनेछ अनुमान गर्न सकिन्छ ।
अबको केही हप्ता संघ तथा प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुले निकै कसरत गर्ने देखिएको छ । निर्वाचन परिणामले संघीय तथा प्रादेशिक संसदमा नयाँ राजनीतिक दलहरुको अर्थपूर्ण उपस्थिति देखाएको अवस्थामा पुराना दलहरुलाई चुनौती थपिएको छ । मिलीजुली काम गर्नुपर्ने बाध्यतालाई दल तथा तिनका नेतृत्वले मनन गर्नु आवश्यक छ । अरु दलसँग मिल्नुपर्ने बाध्यतालाई बुझेर विगतमा जस्तो आफ्नै दलभित्र एक–अर्कालाई असहयोग गर्ने परिस्थिति कुनै पनि दलहरुले सिर्जना नगर्नु उचित हुनेछ । सबै प्रदेश तथा संघीय सरकार गठनका लागि दलहरुले हदैसम्मको लचकता देखाएर सहमति कायम गर्नु अपरिहार्य देखिएको छ ।











