फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता यही पुस २२ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार बागमती गाउँपालिका खेलकुद विकास समितिको बैठकले पाँचौं संस्करणको प्रतियोगिताको मिति तय गरेको हो ।

प्रतियोगिता आयोजनाका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ६५ लाखदेखि ७० लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा प्रायोजक र विज्ञापनमार्फत नपुग रकम संकलन गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेताले नगद ८ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको मिति घोषणा गरिएसँगै खेलमैदान निर्माणको कार्य सुरु भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बागमती–८, फापरबारीस्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा आयोजकसहित ए डिभिजन क्लबको सहभागिता रहनेछ । चौथो संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो । शुक्रबार गाउँ खेलकुद विकास समितिको बैठकमा समितिका संरक्षक एवम् गाउँपालिकाका अध्यक्ष सर्केश घलान र उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको पनि उपस्थिति रहेको थियो ।