हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्न भएको अभियोगमा सोही ठाउँका ठुलो कान्छा वाईबाको छोरा ३३ वर्षीय रोज वाईबालाई प्रहरीले सार्वजनिक गरेको हो ।
मंसिर १३ गतेदेखि बेपत्ता भएकी सोही स्थानकी ३५ वर्षीया सरस्वती वाईबाको शनिबार साँझ शव आधा शरीर गाडिएको अवस्थामा भेटिएको थियो । श्रीमति बेपत्ता भएपछि श्रीमान वीर बहादुर वाईबाले १७ गते खोजतलास गर्न प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । २४ गते मृतकका श्रीमान र प्रहरी टोली समेतले खोजतलास गर्दै जाने क्रममा बेलुकाको ७ बजेर ३० मिनेटको समयमा सिस्नेरी ज्यामिरेस्थित रोज वाईबाको बारीमा अनुहार र कपडाको केही भागदेखि खाल्डोमा पुरिएको अबस्थामा शव फेला परेको थियो । तत्काल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।
आइतबार जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिएको थियो । अभियोग लागेको रोज वाईबालाई शंका लागि नियन्त्रणमा लिई अनुसन्धान गर्दा आफैंले मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको हो भनि स्वीकार गरेको प्रहरीले जनाएको छ । अभियोग लागेका वाईबालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । उक्त घटनामा कानुनी प्राबधान मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैदसम्मको सजाय हुने व्यवस्था रहेको कार्कीले बताउनुभयो ।