हेटौंडाः हेटौंडा–९, त्रिवेणीधाममा रहेको त्रिवेणी आधारभूत विद्यालयमा अध्ययनरत् विद्यार्थी भोकै पढ्न आउने गरेका छन् । घरका अभिभावक बिहानै काममा जाने हुँदा विद्यार्थीले खाना नखाइ विद्यालय आउने गरेका हुन् ।

“प्रायः बालबालिकाका अभिभावकहरु दैनिक ज्याला मजुदुरी गर्न जान्छन् । घरमा खाना बनाउने कोही हुँदैन”, विद्यालयका शिक्षक प्रकाश राई भन्नुहुन्छ– “केही विद्यार्थी भोकै पढ्न आउने गरेका छन् ।” विद्यालयमा अभिभावकविहीन बालबालिका बढी अध्ययनरत् रहेकाले उनीहरुको घरमा पारिवारिक वातावरण सहज नहुने शिक्षक राईले जानकारी दिनुभयो । खाना नखाइ आएका विद्यार्थीलाई विद्यालयले खाजाको व्यवस्था गरेको छ । विद्यालयका शिक्षक राईले भन्नुभयो– “भोकै पढ्न आएपछि विद्यार्थीको माया लाग्छ । कहिलेकाहीँ आफैंले क्यान्टिनमा खाजा किनेर खुवाउने गरेको छु ।”

चालु शैक्षिक सत्रमा विद्यालयका २७ जना विद्यार्थीले बीचैमा विद्यालय छाडेका छन् । घरमा सहज वातावरणमा पढ्ने स्थिति नहुँदा बीचैमा पढाइ छाड्ने गरेको उहाँले जानकारी दिनुभयो । विद्यालय छाडेका केही विद्यार्थी अन्यत्र विद्यालयमा समेत भर्ना भएको हुनसक्ने भए पनि विद्यालयको रेकर्डमा बीचमै पढाइ छाडेको देखिने गरेको उहाँको भनाइ छ । बीचैमा पढाइ छोडेर प्रायः बालकहरु गाडीमा हिँड्ने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रायः साना कक्षाका विद्यार्थी नियमित विद्यालयमा पढ्न आउँदैनन् । अल्छीपन र पढ्न जानुपर्छ भन्ने ज्ञान नहुँदा बालबालिका नियमित पढ्न नआउने गरेको शिक्षक राईले बताउनुभयो । विद्यालयमा अझै खानेपानीको सुविधा राम्रो नरहेको उहाँले गुनासो गर्नुभयो । शिक्षक, विद्यार्थी र कर्मचारी विद्यालय आउँदा घरबाटै पानी ल्याउन बाध्य रहेको उहाँले जानकारी दिनुभयो । पाइपको समस्या देखाउँदै खानेपानी व्यवस्थापन समितिले विद्यालयमा पानी उपलब्ध नगराएको उहाँको भनाइ छ । पुरानो संरचनाको पुनः मर्मत नहुँदा कक्षाकोठा अव्यवस्थित रहेको जानकारी उहाँले दिनुभयो ।

विद्यालय सडक नजिकै रहेकाले ध्वनी प्रदूषणको समस्या रहेको उहाँले जानकारी दिनुभयो । “विद्यालय क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ”, शिक्षक राईले भन्नुभयो– “सडकमा गुड्ने गाडी, अटो, मोटरसाइकल सबैले हर्न बजाउने गरेका छन् ।” विद्यालयमा खानेपानीको उचित व्यवस्थापन, भौतिक संरचना निर्माण, विद्यार्थी संख्या वृद्धि र हर्न निषेधित गर्न प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो ।

त्रिवेणी आधारभूत विद्यालयका प्रधानाध्यापक सुशीला पौडेलले बाबुआमाविहीन बालबालिका ८० प्रतिशत अध्ययनरत् रहेको जानकारी दिनुभयो । बाबुआमाले बहुविवाह गरेपछि बालबालिका अभिभावकविहीन हुन पुगेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारी तथा पारिवारिक बेमेलका कारण बालबालिका बाबुआमाविहीन बन्न पुगेको उहाँको भनाइ छ । विद्यालयमा अध्ययन गर्न आउने हेटौंडा–१३, वनस्पतिका ६५ प्रतिशत बालबालिका बाबुआमाविहीन रहेको उहाँले बताउनुभयो । ती बालबालिका हजुरबुबा, हजुरआमा र आफन्तको संरक्षणमा रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयका २५ प्रतिशत छात्राहरु महिला बालबालिका सरोकार केन्द्रको सहयोगमा अध्ययनरत रहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । ५० जना विद्यार्थी एस्थर बेन्जामिन संस्थाको सहयोगमा अध्ययनरत् रहेको उहाँले जानकारी दिनुभयो ।

विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा सन्तोषजनक नभएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो । ६५ प्रतिशत विद्यार्थी माथिल्लो तहमा जान योग्य रहेका छन् भने ३५ प्रतिशत अति कमजोर विद्यार्थी रहेको उहाँको भनाइ छ । कमजोर विद्यार्थीको शैक्षिक स्तर उकास्न मंसिर महिनादेखि विद्यालयले अतिरिक्त कक्षा सञ्चालनसमेत गरिरहेको उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन अभियानमा रहेको छ । तर, विद्यालयहरुको हालको स्थितिलाई हेर्दा एक वर्षभित्र बालमैत्री स्थानीय शासनमुक्त हुन नसक्ने प्रधानाध्यापक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो– “कोभिड महामारी सुरु भएपछि हालसम्म विद्यालयले बाल क्लबलाई पूर्णता दिन सकेको छैन ।”

विद्यालयले प्रोजेक्टर तथा टिभीमार्फत् बालबालिकालाई शैक्षिक ज्ञानसमेत दिइरहेको छ । हरेक हप्ता शुक्रबार अतिरिक्त क्रियाकलाप संचालन गरिए पनि विद्यार्थीको उत्साहजनक सहभागिता नरहेको उहाँले बताउनुभयो । हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता नहुने गरेको उहाँको भनाइ छ । चम्चा दौड, म्युजिकल चियरजस्ता मनोरञ्जनात्मक क्रियाकलापमा भने विद्यार्थीको सहभागिता उत्साहजनक रहने गरेको उहाँले बताउनुभयो । घरमा पढ्ने वातावरण नहुने कारण बौद्धिक क्षमता प्रदर्शन गर्ने हाजिरीजवाफ र वक्तृत्वकलाजस्ता प्रतियोगितामा विद्यार्थी सहभागिता न्यून हुने गरेको उहाँले जानकारी दिनुभयो ।