हेटौंडाः मकवानपुरमा रासायनिक मल अभावको समस्यालाई लिएर संघीय सांसद महेश बर्तौला कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुग्नुभएको छ । सांसद बर्तौला र मकवानपुरका स्थानीयसहित मलको समस्यालाई लिएर कृषि मन्त्रालय पुग्नुभएको हो ।
सांसद बर्तौलाले मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मासँग मलको अभाव र व्यवस्थापनबारे छलफल गर्नुभएको छ । सांसद बर्तौलाले मकवानपुरको तरकारी राजधानीको प्रत्येक भान्छामा पुग्ने, तर मकवानपुरमा तरकारी खेतीका समयमा मल खरिद गर्न नपाउने अवस्था रहेको बताउनुभयो । नेपालले ल्याउने मलको १२ प्रतिशतमात्रै बागमती प्रदेशले पाउने गरेको र त्यसबाट मकवानपुरले थोरै पाउँदा किसानलाई खेती गर्न समस्या भएको उहाँले बताउनुभयो । मन्त्रालयले खेतीपातीको समयमा खेती नहुने जिल्ला वा प्रदेशले पाउने गरेको मलबाट मकवानपुरमा मल पठाई मलको अभाव परिपूर्ति गर्न आग्रह गर्नुभयो ।
यस्तै, थाहा नगरपालिकाका स्थानीय डा.रामहरि लामिछानेले मकवानपुरका जनताको जीवनस्तर खेतीमा निर्भर रहेको बताउनुभयो । सरकारले मकवानपुरलाई छुट्याएको मलको कोटा उत्पादन र खेतीको आधारमा अपुग रहेको बताउनुभयो । मन्त्रालयले मकवानपुरमा मलको कोटा वृद्धि गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
मन्त्रालयका सचिव शर्माले मलको खरिद अहिले जीटुजी प्रक्रियामार्फत् भएर भारतबाट आउने गरेको बताउनुभयो । हरेक वर्ष मल खरिद गर्दा खरिद प्रक्रिया अगाडि बढाउँदा बढाउँदै ढिला हुने कारण समस्या भइरहेको उहाँले बताउनुभयो । उहाँले आफू निरन्तर मल ल्याउन लागि परेको बताउनुभयो । मल खरिद गर्नका लागि अहिले आर्थिक तरलता रहेकाले समस्या भइरहेको पनि उहाँको भनाइ छ । सचिव खड्काले आफूले नेपालमा आइसकेको मल र बागमती प्रदेशले सूत्रको आधारमा पाउने मलको कोटाबाहेक केही थप गरेर पठाउने प्रतिबद्धता जनाउनुभएको छ ।