मानवअधिकार पुरस्कार २०७९ घोषणा गर्दै मन्त्रालयले जारी गरेको विज्ञप्ति ।

हेटौंडाः हेटौंडाबाट सुरु भएको मानवसेवा आश्रमको अभियानलाई यसवर्ष सरकारले मानवअधिकार पुरस्कार प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मानव सेवा आश्रम काठमाडौं शाखालाई मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै व्यक्तिगततर्फ प्राध्यापक डा. कपिलमान श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर गत वर्षदेखि व्यक्तिगत र संस्थागततर्फ मानव अधिकार सम्मान प्रदान गर्न सुरु गरेको हो ।

सडकपेटी तथा सार्वजनिकस्थलहरुमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसरुपमा रही अत्यन्तै कष्टपूर्ण रुपमा जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्दार, उपचार, परामर्श गरी लालनपालन, संरक्षणको कार्य गर्दै आएको उल्लेख गर्दै मन्त्रालयले सोही कार्यको सम्मानस्वरुप मानवअधिकार पुरस्कार प्रदान गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।