हेटौंडाः राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को तुलनामा वर्ष २०७८÷७९ वर्षको सबैभन्दा कम उजुरी परेको छ । बिहिबार हेटौंडास्थित राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयले पत्रकार सम्मेलन गर्दै तीन वर्षको तुलानात्मक विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरण अनुसार बागमती प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा देशको कुल १ सय ४१ उजुरी मध्ये जम्मा ३३ वटा उजुरी परेको छ । जुन पछिल्लो २ वर्षको तुलनामा कम हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ६८ र आर्थिक वर्ष २०७७÷७८ मा ९८ उजुरी रहेको थियो । जस अन्तर्गत नागरिक तथा राजनीतिक अधिकार, महिला अधिकार, बाल अधिकार, मानव बेचबिखन जस्ता कुराहरुको उजुरी रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा देशभरको ४ सय १४ को अनुसन्धान मध्ये बागमती प्रदेशमा १ सय ५७ वटा अनुसन्धान परेको छ । जसमा नागरिक तथा राजनीतिक अधिकार, सम्पति लुटपाट, क्षतिपूर्ति, यातना, बेपत्ता लगायतका अनुसन्धान रहेको छ । आयोगले विचाराधिन उजुरी, अनुगमन, श्रोत व्यक्ति, वार्षिक प्रतिवेदन, कर्मचारी, आयोगका आन्तरिक कार्यक्रममा सहभागिता बारेमा समेत तुलानात्मक विवरण सार्वजनिक गरेको छ ।

कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको थियो । कार्यालय प्रमुख अधिकारीले बागमती प्रदेशमा मानव अधिकार संरक्षणलाई गुणात्मक बनाउने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको सहायक प्रमुख लोकनाथ घिमिरे, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।