फाइल तस्बिर

हेटौंडाः हेटौंडा—१० स्थित ज्ञानदा माध्यमिक विद्यालयले दशैंअघि सञ्चालन गरेको प्रथम त्रैमासिक परीक्षामा १५ जना विद्यार्थीले परीक्षा दिन पाएनन् । विद्यालयमा तोकिएको उपस्थिति (हाजिरी) नपुगेपछि उनीहरुलाई विद्यालयले परीक्षा दिनबाट रोक लगाएको हो । विद्यार्थीको विद्यालयमा नियमित उपस्थितिलाई प्रभावकारी बनाउन तोकिएको हाजिरी नपुग्नेलाई परीक्षामा सहभागी नगराइएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीको नियमितता वृद्धि गर्नुका साथै पठन संस्कृतिको विकास गर्न यस्तो नियम बनाइएको उहाँले जानकारी दिनुभयो । लगातर २० दिनसम्म विद्यालयमा उपस्थित नहुने विद्यार्थीलाई प्रथम त्रैमासिक परीक्षामा सहभागी नगराइएको प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।

वार्षिक परीक्षाको समयमा कुनै विद्यार्थीको हाजिरी ७५ प्रतिशत नपुगेमा परीक्षा दिनबाट वञ्चित गर्नसक्ने व्यवस्था सरकारले गरेको छ । कतिपय विद्यालयहरुले विद्यालयको अन्य आवधिक परीक्षामा पनि तोकिएको हाजिरी दिन नपुग्ने विद्यार्थीलाई परीक्षामा सहभागी हुन नदिने गरेको पाइन्छ । ज्ञानदा माविले पनि लामो समयसम्म विद्यालयमा उपस्थित नहुने विद्यार्थीलाई प्रथम त्रैमासिक परीक्षा दिनबाट रोक लगाएको हो ।

वार्षिक परीक्षा सञ्चालन गर्दा हाजिरीमा विद्यार्थीको उपस्थिति संख्या नपुग्ने भएकाले प्रथम त्रैमासिक परीक्षादेखि नै यसमा कडाइ गरेको प्रधानाध्यापक सुवेदीको भनाइ छ । ती विद्यार्थी आगामी दिनमा नियमित विद्यालय आएमा अर्धवार्षिक परीक्षामा सहभागी गराइने उहाँले जानकारी दिनुभयो । विद्यालयमा नियमितरुपमा उपस्थित भएपछि मात्र अर्धवार्षिक र वार्षिक परीक्षा दुबै दिन पाउने उहाँले बताउनुभयो ।

विद्यालयले दशैंअघि सञ्चालन गरेको प्रथम त्रैमासिक परीक्षाको नतिजा गत कार्तिक २५ गते सार्वजनिक गरेको थियो । परीक्षामा ५० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको बताइएको छ । विद्यालयले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई गत जेठदेखि नै अतिरिक्त कक्षा सञ्चालन गर्दै आए आधा विद्यार्थी अनुत्तीर्ण हुनु चिन्ताको विषय रहेको प्रधानाध्यापक सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो— ‘विद्यार्थी नियमित विद्यालयमा उपस्थित नहुदाँ पनि नतिजा खस्किएको छ । अहिलेका बालबालिका सामाजिक सञ्जाल फेसबुक, मोबाइल गेमहरुमा व्यस्त हुने क्रम बढेको छ ।’ कोरोना महामारीका कारण करिब ३ वर्ष विद्यालय राम्रोसँग सञ्चालन नहुदाँ शैक्षिक गुणस्तर खस्किएको भन्दै प्रधानाध्यापक सुवेदीले भन्नुभयो– ‘यसको नकारात्मक प्रभाव शिक्षामा पर्दा विद्यालयले चाहेको जस्तो नतिजा ल्याउन सकेको छैन ।’

पछिल्लो १० वर्षको अवधिमा ज्ञानदा माविबाट एसईईमा कुनैपनि विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्न सकेका छैनन् । विगतको भन्दा यस वर्षको शैक्षिक सत्रलाई प्रभावकारी बनाउन विद्यालय लागिपरेको प्रधानाध्यापक सुवेदीले बताउनुभयो । विद्यालयले हरेक शुक्रबार परीक्षा सञ्चालन गरी अभिभावकसँग नतिजाको विषयमा अन्तरक्रिया गर्दै आएको उहाँको भनाइ छ । विद्यालयमा प्रायः आर्थिक अवस्था कमजोर भएका परिवारको बालबालिका अध्ययन गर्न आउने गर्दछ । ‘थानाभर्‍याङ, न्युरेनी र फरेस्ट्री गेटदेखि श्रमिक तथा मजदुरका बालबालिकाहरु आउँछन्’, प्रधानाध्यापक सुवेदीले भन्नुभयो— ‘विद्यार्थीको घरमा पढ्ने वातावरण नहुदा विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेका छन् ।’ विद्यालयमा दलित, मधेसी र आदिवासी जनजाति समुदायका बालबालिका अध्ययनरत् छन् । जुन समुदायमा पर्याप्त शिक्षाको पहँुच पुग्न नसकेका कारण विद्यार्थीमा पढ्नु पर्छ भन्ने ज्ञान नै नहुँदा बीचैमा पढाइ छाड्ने गरेको उहाँले जानकारी दिनुभयो ।

नियमित विद्यालय आउने वातावरण निर्माणका लागि कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आइरहेको छ । स्थानीय तहले प्राविधिमैत्री शिक्षा सञ्चालनमा जोड दिइरहेको अवस्था छ । जसको कार्यान्वयनमा विद्यालय लाग्ने उहाँले जानकारी दिनुभयो । परीक्षा समिति, अनुशासन समिति, अतिरिक्त क्रियाकलाप समिति र सरसफाई समितिमार्फत् विद्यालयमा गतिविधि हुदैँ आएको छ । उक्त समितिहरुमार्फत् शिक्षामा क्रमिक सुधार भइरहेको उहाँले दावी गर्नुभयो । यस वर्ष २७ जना विद्यार्थीमध्ये २ जनाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउनेमा विश्वस्त रहेको प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।

हेटौंडाको १० नम्बर वडा सानो शहरी केन्द्र रहेकाले विद्यार्थीको संख्या न्यून रहेको बताइएको छ । उक्त विद्यालयकै आसपासमा २ वटा संस्थागत विद्यालय रहेका छन् । त्यसले पनि विद्यार्थीको आकर्षण कम हुन सक्ने उहाँको धारणा छ । आगामी शैक्षिक सत्रमा विद्यार्थीको संख्या बढाउनेतर्फ विद्यालय केन्द्रित रहेको छ । स्थानीय तहले यातायातको सुविधा उपलब्ध गराएमा टाढाका विद्यार्थीलाई आकर्षण गराउनेतर्फ विद्यालय लाग्ने उहाँले बताउनुभयो ।