हेटौंडाः मकवानपुरका सामुदायिक विद्यालयहरुले अतिरिक्त शुल्कको नाममा विद्यार्थीसँग शुल्क लिँदै आइरहेको छ । हेटौंडा—१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको कक्षा—७ मा अध्ययनरत् निमिसा लामाले विद्यालयले लिँदै आएको अतिरिक्त शुल्कले शिक्षामा नकारात्मक प्रभाव पर्ने बताउनुभएको छ । सबै विद्यार्थीलाई विद्यालय जाने वातावरण निर्माण नभइसक्दा विद्यालयले लिने गरेको शुल्कले असर पुग्ने उहाँको भनाइ छ ।
ज्ञानदा माध्यमिक विद्यालयको कक्षा—७ मा २० जना विद्यार्थी अध्ययनरत् छन् । निर्वाचनपछि विद्यालय खुलेको पहिलो पनि ७ जना विद्यार्थी अनुपस्थित भएको उहाँले बताउनुभयो । जसमा २ जना विद्यार्थी प्रायः विद्यालय आउने गरेका छैनन् । यस्तै, २ जनासँग भने आफू परिचित नभएको लामाले बताउनुभयो । सबै आर्थिकरुपमा सम्पन्न नहुने भएकाले विद्यालयले लिने गरेको शुल्कले असर पुग्ने उहाँको धारणा छ । बीचैमा पढाइ छोड्ने अवस्थाको अन्त्यका लागि पनि अतिरिक्त शुल्कले प्रभाव पार्ने उहाँले बताउनुभयो ।
कम्प्युटर शुल्क, परीक्षा शुल्क र अतिरिक्त कक्षा शुल्क विद्यालयले लिँदै आइरहेको ज्ञानदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले दावी गर्नुभयो । कम्प्युटर र परीक्षा शुल्कमात्र प्रतिविद्यार्थी १००÷१०० रुपैयाँ लिने गरेको उहाँले जानकारी दिनुभयो । प्रधानाध्यापक सुवेदीले अतिरिक्त शुल्क लिन विद्यार्थीसँग चुनौती रहेको दावी गर्नुभयो । परिवारको आर्थिक अवस्था कमजोर हँदा विद्यार्थीसँग अतिरिक्त शुल्क लिन कठिन हुने गरेको उहाँको भनाइ छ ।