–अनिल कोइराला

बर्षौको मेहनत कुहियोस् के फरक पर्छ राग सँग
अनि पो व्यापार बढ्छ सरकारको चर्काे माग सँग

जीवन भन्दा बहुमुल्य केही नलाग्नु पर्ने हो हुन् त
तस्करले किन पैसाको बिटो मात्र देख्छ खाग सँग

भाषणमै व्यस्त छन् जोशिला नाइके भनाउँदाहरु
के आशा राख्नु खाली कराइ मात्र राख्ने काग सँग

बिचल्लीमा परेकै छन् जनता सधैं बढ्दो महंगीसँग
बिचौलिया केबल मतलब राख्छ आफ्नो भाग सँग

कहिले यत्ताको कहिले उत्ताको कुरो गरी टोप्लछन्
के विश्वास गर्नु हजुर कलियुगको दुई जिब्रे नाग सँग

गजल–२

खुब चढेको छ चलखेल धनको आजभोली
पैसामा बिक्ने रहेछ प्रेम मनको आजभोली

उल्झनले चलेको छ जिन्दगीको बाग डोर
सोचे जस्तो केही भएन जीवनको आजभोली

आफ्नै रफतारमा चल्नेहरु कहाँ पुगे कहाँ
बेवारिसे झै छ हाल धड्कनको आजभोली

लाखौं प्रहारपछी उसले रंग रुप पाएको हो
बिर्सछ अतित यही छ गुनासो घनको आजभोली

एक तमासको हुरी जस्तै चलिरहेको छ जिन्दगी
आफ्नै शिलशिला चलिरहेछ तड्पनको आजभोली