एकालाल श्रेष्ठ प्रदेश सभा सदस्य उम्मेदवार मकवानपुर १ (ख)

मंसिर ४ मा हुने प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ को (ख) बाट गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका आनन्दराम पराजुलीनेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिन्छ । बागमती प्रदेशको पहिलो मुख्यमन्त्री पाएको निर्वाचन क्षेत्र प्रदेशको राजधानी हेटौंडाको मुख्य क्षेत्र समेत हो । प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम तयारीमा रहनुभएका उम्मेदवारसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

निर्वाचनको दिन नजिकिँदै गर्दा घरदैलो लगभग सकिने क्रममा छ । घरदैलोमा हिँड्दा निर्वाचन सम्बन्धी कस्तो महशुस गर्नुभएको छ ?
श्रेष्ठः हामी अहिले जनताको घरदैलोमा हिँडिरहेका छौं । राम्रो प्रतिक्रिया आएको छ । नेकपा एमालेले नै मुलुक निर्माण गर्छ । गठबन्धनले गर्न सक्दैन भन्ने आम बुझाई छ । नेकपा एमालेको बिरुद्धमा गठबन्धन गरेर जसरी आइरहेको छ यो चाहीँ लोकतान्त्रिक प्रक्रिया, मूल्य, मान्यता अनुरुप भएन । किनभने निर्वाचन दलहरुको जनमतको मापन गर्ने उपयुक्त विधि थियो । गठबन्धन गरेर आएपछि दल देखिँदैन । त्यसैले नेकपा एमालेको शक्ति देखिन्छ ।

नेकपा एमालेले पनि राप्रपा, राप्रपा नेपाल र जसपासँग साझेदारी गरेको छ नि त ?
श्रेष्ठः हामीले देशभरी नै गठबन्धन गरेका छैनौं । निश्चित ठाउँहरुमा सहयोग गर्ने भनेका छौं । त्यो हामीले राप्रपालाई ३ ठाउँमा र जसपालाई १७ ठाउँमा सहयोग गर्ने भनेका छौं । जसपालाई तराईका क्षेत्रमा सहयोग गर्ने भनिएको छ । समग्रमा मकवानपुरको सन्दर्भमा ६ जना नै सूर्य चिन्हबाट उठेका छौं । हामी अहिले मुलुक कसरी बनाउने भन्ने भिजनसहित अगाडि बढेका छौं ।

शक्तिशाली पार्टीको हिसाब संगठित मत छँदैछ तर, नेकपा एमालेको के–के एजेण्डा या कस्ता उम्मेदवारका कारण तटस्ट मतदातालाई आकर्षित गर्छ ?
श्रेष्ठः व्यक्तिगत रुपमा म पहिलो पटक निर्वाचनमा जाँदैछु । मैले एउटा भिजन बोकेर आएको छु । मैले समग्र रुपमा मकवानपुरको विकास कसरी गर्ने भनेर योजना पनि लिएर आएको छु । सकारात्मक पक्ष भनेको म युवा उम्मेदवार पनि हुँ । नयाँ अनुहार पनि हो । अहिले जनताले खोजेको त्यो पनि हो । यो एउटा सकारात्मक पक्ष छ । पार्टी भित्र बसेर गरेको कामको पनि मूल्यांकन भएको छ । जिल्लाको अध्यक्ष हुँदा गरेको काम सबैले हेरेका छन् । नयाँ र युवा हेर्दा म पनि आकर्षणको रुपमा रहेको छु । पार्टीको हिसाबले बिगतमा नेकपा एमालेले सरकारको पालामा गरेको कामले पनि नेकपा एमालेले काम गर्छ भनेर बुझ्न सकिन्छ । समाज सुधारको कामहरु अगाडि बढाउन नेकपा एमाले नै चाहिन्छ भन्ने भएको छ । नेकपा एमाले भित्र पनि क्षमता, काम गर्ने जोशको आधारमा पनि म एउटा उत्कृष्ट व्यक्ति हो । अब मतदाताले पार्टी भन्दा पनि उम्मेदवार, भिजन र योजनाहरु पनि हेर्नुपर्छ भन्ने लाग्छ । व्यक्तिको आचारण सोच पनि हेर्नुपर्छ ।

पार्टी र तपाइँको व्यक्तिगत एजेण्डाका हिसाबले त्यस्तो के कुरा रहन्छ जसका कारण मतदाताले तपाइँलाई साथ दिन्छ ?
श्रेष्ठः पार्टीको हिसाबले हेर्ने हो भने हिजो नेकपा एमालेको सरकार हुँदा भएको कामलाई हेर्न सकिन्छ कि नेकपा एमालेले काम गरेको छ । हामीले सुरु गरेको एजेण्डाहरुलाई पूरा गर्न पनि नेकपा एमाले नै चाहिन्छ भन्ने कुरा पनि देखिसकेको छ । किन भने हिजो सुरु भएका योजना, समाज सुधारका योजना पूरा गर्न सकेन । त्यसैले जनताको अपेक्षा पूरा गर्ने तहमा हामी जाँदैछौं । नेकपा एमालेभित्र पनि भिजन र इच्छाशक्ति भएको व्यक्तिको खोजी गर्ने क्रममा म त्यस्तो उपयुक्त पात्र हुँ भन्ने लाग्छ ।

तपाइँको क्षेत्रमा रहेका प्रतिस्पर्धीका हिसाबले तपाइँलाई कत्तिको जटिल र अनुकुल अवस्था के छ ?
श्रेष्ठः मेरो प्रतिस्पर्धी भनेको गठबन्धनको उम्मेदवार हो । उहाँ लगायत अरु उम्मेदवार पनि हुन सक्छन् । तर, जसरी दलका नेताहरु एक ठाउँमा उभिने कुरा होला । तर, त्यसैगरी जनता उभिन्छ कि उभिँदैन भन्ने कुराका लागि हामीले एजेन्डा लिएर जाने हो । अहिलेको चुनाव हिजोको पार्टी छान्ने भन्दा पनि उम्मेदवार छान्ने विषय हो । कुन व्यक्ति, उम्मेदवार सही छ राम्रो छ, प्रतिवद्धता राम्रो छ भन्ने हेरेर मतदाताले मतादन गर्न छनोट गर्छ भन्ने लाग्छ । मेरो प्रतिद्वन्द्वी र मलाई हेर्दा त म पहिलो पटक निर्वाचनमा सहभागी हुँदैछु । मेरो त यो अनटेस्ट हुँ । मेरो प्रतिस्पर्धी त टेस्टेड हो । स्थानीय तहको अघिल्लो पटकको निर्वाचनमा हारेको मान्छे हो । यसबीचमा व्यावसायिक पक्षदेखि व्यक्तिगत भिजन र व्यवहार कस्तो छ भन्ने पनि देखिसकेको छ । यसकारण चैं मतदाता म प्रति आकर्षित छन् भन्ने लाग्छ ।

तपाई जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । मकवानपुरमा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा सदस्य गरी ६ वटा क्षेत्र छ । यी छ वटा क्षेत्र मध्ये कुन–कुन क्षेत्रमा एमाले सवल छ र कुन कुन क्षेत्रमा चुनौति हुन सक्छ ?
श्रेष्ठः भन्दा कसरी विश्वास गर्नुहुन्छ । अहिले मकवानपुर जिल्लाका ६ वटै क्षेत्र नेकपा एमालेको उम्मेदवारले जित्छ ।

यसको आधार के हो ?
श्रेष्ठः एउटा आधार भनेको त नेकपा एमालेले ४ जना उम्मेदवार न फ्रेस र युवा दिएका छौं । युवाले काम गर्छ भन्ने आधार छ । नयाँ जोश जाँगर लिएर आएका छौं । उनीहरुले काम गर्छन् भन्ने विश्वास छ । र पटक–पटक सांसद भइरहेको व्यक्तिहरु पनि हाम्रो प्रतिस्पर्धी छ । पटक पटक चुनावमा गइरहेको छ, हारिरहेको छ । त्यस्तो व्यक्ति पनि देखेका छौं । अब दोहो¥याएर जिताउनु हुन्न भन्ने मान्यतामा जनता पुगेका छन् । किनभने उनीहरुको यो बीचमा गरेका कामहरु केही पनि जनताका अपेक्षाअनुसार छैन । मन्त्री भएका व्यक्तिले पनि आफ्ना लागि पैसा कमाउने भन्दा जनताको निम्ति सिन्को पनि भाँचेको अवस्था छैन । जनता आजित भएको अवस्था देखिन्छ । नयाँ मान्छे र नयाँ अनुहारको खोजी भइरहेको देखिन्छ । त्यसैले हामीलाई मतदान गर्ने आशा छ । नेकपा एमाले र राप्रपा नेपालबीच भएको सम्झौता पनि छ त्यो पनि जित्ने आधार हो ।