आनन्दराम पराजुली प्रदेश सभा सदस्य उम्मेदवार मकवानपुर १ (ख)

मंसिर ४ मा हुने प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ को (ख) बाट गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका आनन्दराम पराजुली र नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिन्छ । बागमती प्रदेशको पहिलो मुख्यमन्त्री पाएको निर्वाचन क्षेत्र प्रदेशको राजधानी हेटौंडाको मुख्य क्षेत्र समेत हो । प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम तयारीमा रहनुभएका उम्मेदवारसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

घरदैलो अभियानमा हिँड्दा निर्वाचनको माहोल कस्तो पाउनु भएको छ ?
पराजुलीः निर्वाचन नजिक आइसकेको छ । जनता निर्वाचित गर्न उत्साहित पनि छन् । सँगै आक्रोशित पनि छन् । निर्वाचनबाट जो आए पनि उस्तै त हो भन्ने छ । निर्वाचनको समयमा आउनु हुन्छ र भोलिबाट कहाँ जानुहुन्छ थाहा छैन भन्ने आक्रोश छ । यसको सम्बोधन गर्ने जिम्मा भोलि हामीले नै गर्नुपर्छ । जनताको ठूलो ईच्छा आकांक्षा पनि छैन । स्वास्थ्य, शिक्षा, कृषि आधुनिकीकरण, उद्योग, व्यवसाय यत्ति नै हो । राज्यले उद्योगी, व्यवसायीका अप्ठ्याराका कुरा छ । राजनीतिक दलहरुले सकारात्मक रुपमा जनताको सेवामा लाग्नु पर्छ । स्थानीय निर्वाचन जस्तो होइन । समग्रमा जनताले विकास भनेको जस्तो भएन भन्ने छ । त्यसको सम्बोधन हामी निर्वाचित भएर गएपछि गर्छौ ।

स्थानीय तहको निर्वाचन र प्रदेशसभाको निर्वाचनमा कत्तिको फरक पाउनु भएको छ ?
पराजुलीः पहिलेको निर्वाचन र अहिलेको निर्वाचनमा फरक छ । अनुशासनको विषयहरु फरक छन् । उम्मेदवार र मतदाता दुबैलाई जिम्मेवार बनाएको छ । पहिले पहिले निर्वाचनमा हिँड्दा गीत गाउने, रमाइलो गर्ने, ¥याली गर्ने हुन्थ्यो । अहिले त्यस्तो देखिँदैन । अहिले आचारसंहिताले धेरै विषयहरु रोकेको छ । नयाँ–नयाँ अनुभव भएको छ ।

गठबन्धनमा आवद्ध दलका समर्थकले मतदान गर्ने छँदैछ । गठबन्धनप्रति अविश्वास भएर फरक पार्टीले मतदान नगर्ने आशंका हुँदैछ । त्यसको लागि सबैलाई आश्वस्त पार्न के हुँदैछ ?
पराजुलीः गठबन्धनको विषयमा आन्तरिक सहयोग गर्दैनन् भन्ने हल्ला मात्र हो । आन्तरिक रुपमा सहयोग गर्दैनन् भन्ने एक किसिमको अनर्गल प्रचार हो । गठबन्धनमा आवद्ध सबै दलका नेता, कार्यकर्ता इमान्दार छन् । हामीले वडा तहदेखि जिल्ला लतहसम्म फरक–फरक ढंगले प्रशिक्षण गरिएको छ । सानोतिनो नमिलेको मनलाई मिलाएर जानुपर्छ भनेका छौं । यो गठबन्धन व्यक्तिले चाहेर बनेको गठबन्धन होइन । कसैलाई हराउन र कसैलाई जिताउन गठबन्धन गरिएको होइन । यो संविधानको रक्षाका लागि गठबन्धन गरिएको हो । संविधान बचाउनका लागि गरिएको गठबन्धन हो । त्यसकारण हामी अहिले एक ठाउँमा हुनुपर्छ, एक ढिक्का हुनुपर्छ ।

दुई गठबन्धनबीच प्रतिस्पर्धा जस्तो छ । गठबन्धनको नेतृत्व दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गरिरहेको छ । यस्तो अवस्थामा कांग्रेस र एमालेलाई जितका लागि आफ्नै पार्टी भित्रको मत जोगाउन मुस्किल छ भनिन्छ नि ।
पराजुलीः यसलाई चैं मैले कसरी लिएको छु भने कांग्रेसका कार्यकर्ताले कांग्रेसलाई नै भोट हाल्छ, एमालेको कार्यकर्ताले पनि मलाई लाग्छ त्यसै गर्नुहुन्छ । अहिले अलिकति तरलता चैं देखिन्छ । यद्यपि कांग्रेसले कांग्रेसलाई, एमालेले एमालेलाई नहाल्ने भन्ने लाग्दैन । अब जनताको मन जसले जितेको छ उही निर्वाचित हुन्छ । जनतालाई आवश्यक पर्दा को जानुभएको छ पक्कै पनि जनताले सम्झेको छ ।

जनताको मत पाउन तपाई के–के हिसाबले सक्षम हुनुहुन्छ ? जनता तपाइँप्रति सकारात्मक छन् ?
पराजुलीः २०७४ सालमा मेयरको उम्मेदवार हुँदा केही मतले मात्र पराजित हुनु परेको थियो । ७÷८ हजार मत बदर भएको थियो । प्राविधिक कारण पराजय व्यहोर्नु परेको थियो । तै पनि राजनीति पेशा होइन सेवा हो भनेर निरन्तर हारेको दिनदेखि नै जनताको माझमा नगरवासीको माझमा नै छु । त्यसकारण त्यत्तिबेला पनि जनताले मलाई धेरै माया गर्नुभएको थियो । अहिले पनि म घरघरमा मत माग्न जाँदा मलाई खुसी लागेको के भने त्यो मेरो सम्पत्ति हो भन्ने लाग्छ । मलाई नदेखेको व्यक्तिले पनि म आनन्दराम पराजुली भनेपछि ए तपाइँ आनन्दराम पराजुली हो भनेर धाप मार्ने, अंगालो हाल्ने गरेको पाएको छु । २०७४ सालमा चुनाव हार्दै गर्दा पनि मैले त्यो सम्पत्ति कमाएको रहेछु र त्यो सम्पत्तिलाई जोगाइराख्न पनि मेरो उम्मेदवारी हो । अहिलेको निर्वाचनमा भने जनताले मलाई जिताउनु हुन्छ भन्नेमा विश्वस्त छु ।

तपाइँको अहिलेको मुख्य चुनौति के–के देख्नुहुन्छ ?
पराजुलीः निर्वाचनमा पक्कै पनि चुनौति हुन्छ । प्रतिष्पर्धीलाई कमजोर सम्झनु हुँदैन । हामीले भूकम्पका बेलामा, कोरोनाको बेलामा गरेको कामको पनि मूल्यांकन हुन्छ भन्ने लाग्छ । र चुनौति राजनीतिमा स्वभाविक हुन्छ । चुनावमा आआफ्नो पार्टी होमिँदा चुनौति हुन्छ । चुनौति
को सामना गर्दै विजयीमा परिणत गर्ने प्रयासमा छौं । पक्कै पनि जीत निश्चित छ जस्तो लाग्छ मलाई ।