कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विष्ट ।

हेटौंडाः नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको १७ औं बार्षिक साधारणसभा आज शुक्रबार हेटौंडामा भएको छ । कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले महासंघ सबै पत्रकारहरुको साझा संस्थाको रुपमा अगाडि बढाउनु पर्ने बिषयमा जोड दिएका छन् । पत्रकार महासंघ सबैको साझा संस्था भएको भन्दै सहभागीहरुले महासंघको काममा राजनितिकरण नगर्न अनुरोध गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषय सबैको साझा एजेन्डाको रुपमा रहेको बताउनुभयो । यो पटक महासंघले श्रमको मद्दालाई जोडेको उहाँले जानकारी दिनुभयो । अहिले स्वरोजगारमुलक मिडिया र व्यवसायिक मिडियाहरु रहेको भन्दै उहाँले पत्रकार महासंघले स्वरोजगार मिडियाहरुको संरक्षण र व्यवसायिक मिडियाहरुमा श्रम अधिकारको वकालत गर्दै आएको जानकारी दिनुभयो ।

संघीय सरकार आएपछि कानून निर्माणको दृष्टिले पनि संचार ऐनहरु निर्माण भनभएको भन्र्द ५ वर्षे कार्यकाल नेपाली संचार जगतको लागि सन्तोषजनक नभएको स्पष्ट पार्नुभयो । महासंघले प्रेस स्वतन्त्रताको निमित्त निरन्तर संघर्ष गर्ने उहाँले बताउनुभयो । नयाँ आउने सरकारमाथि पत्रकारले निरन्तर खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा अग्रज पत्रकार सम्मान पुर्व अध्यक्ष राममणी दहाल र न्हुच्छेमान श्रेष्ठ स्मृती क्रियाशिल पत्रकारिता पुरस्कार अन्जली थापालाई प्रदान गरिएको छ । दुबै जनालाई नगद ५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस संगठन मकवानपुरकी अध्यक्ष अन्जली थापा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट लगायतले मन्तब्य ब्यक्त गरेका छ्न ।