प्रतियोगिताको लागि टस गर्दै खेलाडीहरु । 

हेटौंडाः निरज श्रेष्ठको स्मृतिमा भइरहेको जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा आज शुक्रबार भएको पहिलो खेलमा आधुनिक राष्ट्रिय माविको बिजयी सुरुवात भएको छ । हेटौंडास्थित हुप्रचौरमा भएको खेलमा आधुनिक राष्ट्रिय माविले सिद्धार्थ शिशु सदनविरुद्ध ९ विकेटले बिजयी हात पारेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिद्धार्थ शिशु सदनले १० ओभर ५ बलमा अल आउट हुँदै जम्मा ६१ रन मात्र बनाउन सक्यो । खराब प्रदर्शनमा रहेको सिद्धार्थ शिशु सदनको लागि निखिल गुप्ताले १२ रन, अनिस महतोले १३ रन, अभिलेख कठायतले १६ रन बनाएका थिए तर अन्य ब्याट्सम्यान भने खासै चल्न सकेन । त्यस्तै सिद्धार्थ शिशु सदन विरुद्ध आधुनिक राष्ट्रिय माविका बलर प्रिन्स यादवले ४ विकेट, रोहित ठाकुरले ३ विकेट लिएका थिए ।

त्यस्तै लक्ष्य पछाउँदै गरेको आधुनिक राष्ट्रिय माविले १ विकेट घुमाउँदै ३ ओभर ३ बलमा ६२ रनको लक्ष्य पुरा गरेको हो । जसका लागि आधुनिकका ब्याट्सम्यान आयुष सिंहले २४ रन र रोहित ठाकुरले पनि २४ रन बनाएका थिए । त्यस्तै खेलको म्यान अफ द म्याच उत्कृष्ट अल राउण्ड प्रदर्शन गरेको रोहित ठाकुर घोषित भएका छन् ।

त्यस्तै अहिले दोस्रो खेल सोलिडायरीटि इन्टरनेश्नल बोर्डिङ र ज्ञानोदय बोर्डिङबीच भईरहेको छ । यतिखेर सोलिडायरीटिले टस जितेर ब्याटिङ गरिरहेको छ ।