Home मुख्य समाचार हेटौंडा उपमहानगरको वार्षिक समीक्षा गोप्य, ७५ प्रतिशत मात्रै खर्च गर्न सफल

हेटौंडा उपमहानगरको वार्षिक समीक्षा गोप्य, ७५ प्रतिशत मात्रै खर्च गर्न सफल

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले शुक्रबार बार्षिक समीक्षा गरेको छ । उपमहानगरपालिकाले कार्यपालिका सदस्य र सीमित कर्मचारीको उपस्थितिमा वार्षिक समीक्षा गरेको हो । स्थानीय सरकारको वार्षिक कार्यको समीक्षामा सरोकारवाला र सञ्चारकर्मीलाई समेत जानकारी नगराई गोप्यरुपमा गरिएको छ ।
उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले सञ्चारकर्मीलाई जानकारी गराउन निर्देशन दिए पनि कर्मचारीले पत्रकारलाई जानकारी नगराएको बताउनुभयो । ‘वार्षिक समीक्षामा सञ्चारकर्मीलाई जानकारी गराउन भनेको थिएँ । समीक्षामा सञ्चारकर्मीको उपस्थित भएको देखिनँ । कर्मचारीले सञ्चारकर्मीलाई जानकारी नै गराएन छन्’, मेयर लामाले भन्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८÷७९ मा ७५ दशमलव ७४ प्रतिशत मात्रै खर्च गर्न सकेको विवरण सार्वजनिक गरेको छ । १ अर्ब ३० करोड १७ लाख रुपैयाँ चालु बजेट रहेको उपमहानगरपालिकाले १ अर्ब ११ करोड ५५ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यस्तै, पूँजीगत बजेट १ अर्ब ६१ करोड १५ लाख रुपैयाँ रहेकोमा १ अर्ब ८ करोड ३७ लाख रुपैयाँ खर्च गर्न सकेको छ ।

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा आन्तरिकतर्फ २८ करोड ४२ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको उल्लेख गरेको छ । जसमा सिफारिस दस्तुर २ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ । उपमहानगरपालिकाले नक्सा पास दस्तुरमा २ करोड ३७ लाख रुपैयाँ संकलन गरेको छ । व्यवसाय करमा १ करोड ७९ लाख ४४ हजार रुपैयाँ संकलन गरेको उपमहानगरपालिका कार्यालयको प्रतिवेदनमा उल्लेख छ । १९ वटै वडाबाट ५ करोड ३२ लाख रुपैयाँ संकलन गरेको देखिन्छ । नदिजन्य पदार्थ विक्रिबाट ४ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ । हेटौंडा उपमहानगरपालिकाको २ अर्ब ९१ करोड ९३ लाख रुपैयाँ कूल बजेट रहेकोमा २ अर्ब २० करोड ५२ लाख रुपैयाँ खर्च भएको छ ।

हालसम्म उपमहानगरपालिकाले आर्थिक वर्षको अन्त्यसम्ममा २५ वटा ऐन, ४ वटा नियमावली, २९ वटा कार्यविधि, १४ वटा निर्देशिका तयार पारिसकेको थियो भने २ वटा संशोधन कार्यविधि निर्माण गरेको जनाएको छ । समाजकल्याण शाखा अन्तर्गत ४५ दशमलव ५८ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । जसमा १ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ५५ लाख ३८ हजार रुपैयाँ मात्र खर्च भएको थियो ।

उपमहानगरपालिकाको प्रगति विवरण अनुसार २०७८ साउनदेखि ०७९ असारसम्म १ सय ८४ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आवको बाँकी मुद्दा ४८ वटा, मिलापत्र १ सय २७ थान, अदालत जान सुनाईएको ८ थान, मुद्दा फिर्तँ २ थान, पक्षहरु उपस्थित नभएको १७ थान, मुलतबी १ थान, मेलमिलाप हुन नसकेको ३६ थान, प्रक्रियामा रहेको ४१ थान रहेको जनाएको छ ।

भौतिक प्रगतिमा कंक्रिट सडक र ग्राभेल ७० दशमलव ८७ किलोमिटर, कालोपत्रे सडक २ दशमलव २८ किलोमिटर, सडक नयाँ ट्र्याक १ दशमलव ८० किलोमिटर, कल्भर्ट २० वटा, ग्राभेलिड्ड ११ दशमलव ५८ किलोमिटर, सिँचाई २ वटा, तटबन्ध १५ वटा, विद्यालय पूर्वाधार २० वटा, मन्दिर ४५ वटा, शौचालय ८ वटा, सामुदायिक भवन १६ वटा, खेलकुद पूर्वाधार ३ वटा, स्वास्थ्य केन्द्र भवन निर्माण ९ वटा, पर्यटन पूर्वाधार ७ वटा, गुम्बा निर्माण र स्तरीकरण १६ वटा गरेको छ ।

Exit mobile version