हेटौंडाः हेटौंडा–४ स्थित नारायणी नर्सिङ कलेजका विद्यार्थीले विद्यालय तहका विद्यार्थीबीच सचेतनामूलक कार्यक्रम गरेको छ । कलेजका विद्यार्थीले शुक्रबार बिहान हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविका विद्यार्थीबीच स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
नर्सिङ विषयको प्रमाणपत्र तह दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीले विद्यालय तहका विद्यार्थीबीच महिनावारीको अवस्थादेखि स्तनपानको विषयमा जानकारी गराएको छ । शिशुको विकासक्रम, राष्ट्रिय खोप तालिका, हात धुने प्रक्रिया, सर्र्वोत्तम पिठो, स्तनपान, रक्तअल्पता, कुपोषित आमा, महिनावारीको समय, जङ फुड र सन्तुलित खानाका विषयमा नर्सिङ विषयका विद्यार्थीले जानकारी गराएका छन् । ‘सन्तुलित खाना ठिक खाउँ, नियमित खाउँ, छाकै पिच्छे खाउँ’ भन्दै विद्यार्थीलाई सचेत गराइएको छ ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षक करुणा श्रेष्ठले विद्यालयमा अध्ययनरत् विद्यार्थीमा हुने समस्यालाई न्युनीकरण गर्ने उद्देश्यले स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरिएको बताउनुभयो । नर्सिङका विद्यार्थीको प्रयोगात्मक परीक्षा अन्तर्गत विद्यालय तहका विद्यार्थीबीच स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको उहाँको भनाइ छ ।
नारायणी मेडिकल टेक्नोलोजी नर्सिङ कलेजका विद्यार्थी रेजिना वाईबाले सबैलाई स्वास्थ्य सम्बन्धी जानकारी नहुने भएकाले विद्यार्थीबीच सचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । यस्तै सोही कलेजकै विद्यार्थी विपना थापाले विद्यालय तहका विद्यार्थीलाई स्वास्थ्य शिक्षा जरुरी रहेकोले सचेतना कार्यक्रम गरेको जानकारी दिनुभयो ।