कुमारी मोक्तान ।

हेटौंडाः नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनावी मैदानमा आएको छ । आफ्नो उम्मेदवारलाई विजयी बनाउन र राजनीतिक रुपमा आफ्नो स्थान कायम गर्न पनि माओवादी केन्द्रले तयारी गरेको छ । अहिले चुनावी माहोल तातेको समयमा गठबन्धन दलका कार्यकर्ता र उम्मेदवारहरु एक ढिक्का भएर चुनावी मैदानमा रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्री एवम् प्रदेशसभा सदस्य मकवानपुर क्षेत्र नम्बर २ कोे “क” का उम्मेदवार कुमारी मोक्तानले बताउनुभएको छ ।

उहाँका अनुसार निर्वाचनको तयारी पुरा भएको छ । उहाँले भन्नुभयो, “मुख्य त हामी राष्ट्रिय एजेण्डा साथमा लिएर हिँडेका छौं । संविधानको रक्षा, समृद्धि, सुशासन कायम, संविधानको पालना, स्थायी राजनीति लगायत रहेका छन् ।” उहाँले थप्नुभयो, “हामीले क्षेत्रगत हिसाबले विकास निर्माणलाई प्राथमिकतामा राखेका छौं । स्वास्थ्यमा जनताको पहुँच, शिक्षामा सर्वसाधारणको पहुँच, पूर्वाधार विकास निर्माण र कृषि आधुनिकीकरण जस्ता विषयलाई प्राथमिकतामा राखेर जनताको घरदैलोमा पुगेका छौं ।” बिहीबार हेटौंडा–११, सिमलटारबाट घरदैलो अभियान सुरु गरेको उहाँले बताउनुभयो । घरदैलो अभियानसँगै स्थानीय बासीहरुको समस्या पनि बुझेको उहाँले बताउनुभयो । घरदैलो अभियानको क्रममा स्थानीयको समस्या धेरै आएको भन्दै उहाँले स्थानीयको समस्या समाधान गर्न पनि लोकतान्त्रिक बाम गठबन्धनको जित आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँका अनुसार लोकतान्त्रिक बाम गठबन्धनका साथीहरु एकजुट भएर काम गरिरहेका छौं । निर्वाचन आयोगले प्रचारप्रसार गर्ने समय तोके अनुसार नै बिहीबारबाट हामीले औपचारिक रुपमा नै घरदैलो अभियान सुरुवात गरेको उहाँले बताउनुभयो । बुधबारसम्म भने सामान्य कार्यकर्ता भेटघाटको कार्यक्रममा मात्रै सीमित गरिएको उहाँले जानकारी दिनुभयो ।

अघिल्लो ५ वर्षमा प्रदेश सरकारमा बसेर गरेको कामको स्मरण गर्दै उहाँले प्रदेशसभा नयाँ संरचनाको भएर जनतालाई बुझाउन नै समस्या भएको बताउनुभयो । नयाँ संरचना भएकोले ऐन कानून निर्माण गर्न, कार्यालयहरु स्थापना गर्नमा नै समय लागेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, अहिले प्रदेश सरकारले आकार लिएको छ । जनताले पनि प्रदेश संरचना बारे बुझ्न थालेका छन् । अबको दिनमा ऐन नियम कार्यान्वयनमा लैजान र काम गर्न सजिलो हुन्छ ।”

उहाँले भन्नुभयो, “प्रत्यक्ष निर्वाचनमा मलाई पार्टी र गठबन्धनले उम्मेदवार बन्न योग्य सम्झेर मेरो आवश्यकता ठानेर नै मैले प्रदेशसभाको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको हुँ । बागमती प्रदेशको आवश्यकता पूरा गर्नलाई जिम्मेवारीको हिसावले गठबन्धनले आवश्यक ठानेर पूर्ण जिम्मेवारी पाएको हो ।” जनताको सद्भाव र माया आफ्नो साथमा रहेको उहाँले दावी गर्नुभयो । काम गर्न सक्ने क्षमताको आधारमा पनि गठबन्धनले उम्मेदवार बनाएको उहाँको भनाई छ ।

उहाँका अनुसार निर्वाचन नजिकिएसँगै गठबन्धनको साथ राम्रो छ । गठबन्धन दल र कार्यकर्ताहरु एक ढिक्काका साथ अगाडि बढिरहेको उहाँले बताउनुभयो । चुनावी अभियानमा हिँड्दा गठबन्धनको साथ र सहयोगले गर्दा जित्ने पक्का भएको उहाँले दाबी गर्नुभयो ।