हेटौंडाः असोज महिनामा १ सय ८० जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको तथ्यांकअनुसार असोज महिनामा १ सय ८० जनाले रक्तदान गरेका हुन् ।
असोज महिनामा विभिन्न ६ संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५२ जना पुरुष र २८ जना महिला गरी १ सय ८० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णुप्रसाद रिमालले जानकारी दिनुभएको छ ।
असोज महिनामा रक्तसञ्चार केन्द्रको कार्यालयमा पुगेर ५५ जनाले रक्तदान गरेको प्राविधिक रिमालले बताउनुभयो । यस्तै, कात्तिक महिनाको १५ गतेसम्म ७७ जनाले रक्तदान गरेका छन् । कात्तिक ४ गते र ५ गते २ वटा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । यस्तै, १६ जनाले कार्यालयमा पुगेर रक्तदान गरेका छन् ।
अहिले हेटौंडामा रगतको अभाव रहेको छ । रगत माग अत्याधिक रहेकाले अहिले केन्द्रसँग ‘ओ’ पोजेटिभ समूहको रगतमात्र मौज्दातमा रहेको र अन्य समूहको रगत मौज्दातमा नरहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दहालले बताउनुभयो । अहिले बजारमा रगतको आपूर्ति कम र माग बढी भएकाले रक्तदान गर्न आह्वान गरिएको प्रमुख दहालको भनाई छ ।