एकालाल श्रेष्ठ प्रदेश सभा सदस्य उम्मेदवार मकवानपुर १ (ख)

हेटौंडाः नेकपा एमाले अहिले कार्यकर्ता भेटघाटमा व्यस्त रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेकपा एमाले आफ्नो पक्षमा मत संकलन गर्न र आफ्ना एजेण्डा जनतामाझ लैजान व्यस्त छ । लोकतान्त्रिक बाम गठबन्धनसँगको प्रतिष्पर्धामा बलियो खम्बाको रुपमा उभिएको नेकपा एमालेले गाउँगाउँमा पार्टीको प्रचारप्रसार सुरु गरेको छ ।

स्थानीय तहको निर्वाचनमा पछाडी परेको नेकपा एमाले आगामी निर्वाचनमा भने पहिलो हुने जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार एकालाल श्रेष्ठले दावी गर्नुभएको छ । उहाँका अनुसार हालसम्म कार्यकर्ता भेटघाट र सामान्य कार्यक्रम मात्र सञ्चालन भइरहेको छ । आज बिहीबारबाट भने औपचारिक रुपमा प्रचारप्रसारका कार्यक्रमहरु सुरु हुने उहाँले बताउनुभयो । अघिल्लो निर्वाचनमा नेकपा एमालेले सरकारमा बसेर गरेको राम्रो कामको जनताले मूल्याङ्कन गरेको भन्नुहुँदै उहाँले देश विकास गर्ने संकल्प बोकेको आधारमा पनि एमालेको जित सुनिश्चित हुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी अहिले देश विकाससँगै हाम्रो जिल्लाको समृद्धिको एजेण्डा बोकेर अगाडि बढेका छौं । हाम्रो मुख्य एजेण्डा भनेको नै विकास निर्माण गरी समृद्ध मकवानपुर बनाउने हो । अघिल्लो वर्षहरुमा सुरुवात गरेको गौरवका आयोजनाहरु निरन्तरता दिनु, हेटौंडालाई सुविधासम्पन्न राजधानी बनाउने, हेटौंडा अस्पताललाई प्रदेशको गौरवको अस्पताल बनाउने, विश्वविद्यालय स्तरको विद्यालय स्थापना गर्ने र युवालाई रोजगारी सृजना गर्ने मुख्य एजेण्डाको रुपमा रहेको छ ।”

स्थानीय तहको निर्वाचन फरक खालको निर्वाचन भएको भन्नुहुँदै उहाँले आगामी निर्वाचन सरकार बनाउने स्पष्ट पार्नुभयो । राष्ट्रलाई एउटा गति दिन, विकासप्रेमी सरकार र राजनीतिक स्थायित्वको निमित्त नेकपा एमालेको एकल बहुमतको सरकारबाट मात्र सम्भव भएको उहाँले दावी गर्नुभयो । गठबन्धनबाट धेरै राजनीतिक दल आउने भन्दै उहाँले नेकपा एमालेबाहेक अन्य कुनै राजनीतिक दलको बहुमतको सरकाबाट बन्ने आधार नभएको औँल्याउनुभयो । एकल राजनीतिक दलको सरकार स्थापित गर्न पनि नेकपा एमालेको सरकार हुनुपर्ने विषय जनताले बुझ्नु पर्ने उहाँको धारणा छ । एमाले भित्र स्थानीय तहमा देखिएको विवाद समाधान भएको भन्नुहुँदै उहाँले अहिले नेकपा एमाले पार्टी भित्र एक ढिक्का भएको जानकारी दिनुभयो ।

पार्टी भित्र संगठन निर्माण गरेर काम गरिरहेको उहाँले बताउनुभयो । आगामी निर्वाचनमा नेकपा एमालेको बहुमत आउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेबाट टिकट दिएको विषयमा स्पष्ट पार्नुहुँदै उहाँले थापा राजनीतिक रुपमा राष्ट्रव्यापी छवी भएको व्यक्तित्व रहेको भन्दै प्रशंसा गर्नुभयो । राष्ट्रव्यापी स्थापित व्यक्ति देश निर्माणमा आवश्यक भएकोले पनि नेकपा एमालेले थापालाई सहयोग गरेको उहाँले स्पष्ट पार्नुभयो । कमल थापा नेकपा एमालेबाट विजयी भएपछि नेकपा एमालेको सांसदको हैसियतमा ५ वर्ष काम गर्नुहुने उहाँले जानकारी दिनुभयो ।

यस्तै, नेकपा एमालेले चुनावमा युवाहरुको सैद्धान्तिक र वैचारिक प्रतिनिधित्व गराएको उहाँले बताउनुभयो । नेकपा एमालेले युवाहरुलाई पनि उम्मेदवार बनाएर युवा समेट्न खोजेको स्पष्ट पार्नुभयो । देश विकासको आशा, भरोसा र आकर्षणको रुपमा रहेको युवालाई समेटेको उहाँले बताउनुभयो । उहाँले देश निर्माणको अभियानमा नेकपा एमाले लागेको बताउनुभएको छ । नेकपा एमालेले अहिले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियानमा अगाडि बढेको उहाँले बताउनुभयो । मुलुकको विकासका लागि एमालेले थालेका कामहरुको निरन्तरता दिन पनि एमालेले जित्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।