हेटौंडाः भान्सामा नभई नहुने तरकारी मध्ये आलु अहिले महंगो भएको छ । हेटौंडा बजारमा रहेको तरकारी मध्ये सबैभन्दा महंगो आलु छ । आलुको मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । हेटौंडाको थोक तरकारी बजारमा आलुको थोक मुल्य एक सय रुपैयाँ रहेको छ ।

भदौ महिनामा आलुको थोक मुल्य ७० रुपैयाँ प्रतिकिलो मात्रै थियो । चाडपर्व नजिकिएसँगै आलुको मुल्यमा अत्याधिक वृद्धि भएको हो । हेटौंडा तरकारी बजारमा नयाँ आलु ९० देखि ९५ रुपैयाँ प्रतिकेजी थोक मुल्यमा विक्रि भइरहेको तरकारी व्यवसायी राजेन्द्र कार्कीले जानकारी दिनुभयो । आलुको मुल्य उपभोक्तासम्म पुग्दा करिब १५–२० रुपैयाँसम्म वृद्धि हुने गरेको उहाँले बताउनुभयो । हेटौंडामा नयाँ आलुको खुद्रा मूल्य १ सय २० रुपैयाँ प्रतिकिलो रहेको छ । बिउको खपतमा धेरै प्रयोग गरिएको कारणले मूल्य वृद्धि भएको उहाँको भनाइ छ । उहाँका अनुसार आलु मकवानपुरको पालुङ, दामन, नामटार, हाँडीखोला लगायतका क्षेत्रबाट ल्याइन्छ ।

यस्तै छिमेकी देश भारतबाट पनि आलु आयात हुने गरेको उहाँले बताउनुभयो । यस्तै, पुरानो आलु हाल ५५ रुपैयाँ प्रतिकिलो खुद्रा मुल्यमा विक्रि भइरहेको छ । एक महिना अगाडि पुरानो आलु ४५ रुपैयाँ प्रतिकिलोमा विक्रि भइरहेको थियो । अहिले आलु खेति गर्ने समय भएकोले अब फागुन महिना लागेपछि मात्रै आलुको मुल्य घट्ने व्यापारीहरुको भनाइ छ ।