हेटौंडाः अमेरिकी ब्राण्ड सेग्वेको विद्युतीय स्कुटर हेटौंडामा पनि विक्री सुरु गरिएको छ । लक्ष्मी पुजाको अवसर पारेर कात्तिक ७ गतेबाट सस्टेन्ड मोविलिटी प्रालिले हेटौंडामा विद्युतीय स्कुटर विक्री सुरु गरेको हो । अत्याधुनिक प्रविधिमा आधारित स्कुटर पूरा चार्ज हुँदा एक सय किलोमिटरसम्म यात्रा गर्न सकिने दावी कम्पनिको छ ।
अहिले इ–१०० मोडलको स्कुटर विक्रीका लागि राखिएको सस्टेन्ड मोविलिटी प्रालिका सञ्चालक धिरेनमान श्रेष्ठले जानकारी दिनुभयो । विक्री सुरुवात गरिएको अवसरमा १५ हजार रुपैयाँ नगद छुटसहित बीमा र सडक कर छुट गर्नुका साथै स्मार्ट वाच उपहार समेत रहेको सञ्चालक श्रेष्ठले बताउनुभएको छ । सहुलियत व्याजदरमा फाइनान्सको समेत सुविधा रहेको पनि उहाँले बताउनुभयो ।
१.५ युनिट विजुलीबाटै पूरा चार्ज गर्न सकिने स्कुटरमा आवश्यकताअनुसार थप एउटा व्याट्री समेत राख्न सकिने छ । जिपिएस ट्र्याकिङ सुविधा भएको स्कुटर चावीले अनलक नगरी गुडाउन खोजे स्वतः ह्वील लक हुने भएकोले चोरी हुने जोखिम पनि न्यून रहेको कम्पनिको दावी छ । गुणस्तरीय अमेरिकी व्राण्डको स्कुटर भएकोले उपभोक्ताले छिट्टै रुचाउने दावी सस्टेन्ड मोबिलिटीका सञ्चालक धिरेनमान श्रेष्ठ बताउनुहुन्छ ।
‘पेट्रोलको मूल्य उच्च भएका बेला न्यून शूल्कमै विद्युतीय स्कुटर प्रयोग गर्न सकिन्छ’ श्रेष्ठले भन्नुभयो, ‘पछिल्लो समय उपभोक्ताहरु पनि विद्युतीय सवारी साधनप्रति आकर्षित भइरहेको बेला छिट्टै बजारमा सेग्वेका स्कुटरको राम्रो उपस्थिति रहने देखेको छु ।’ काठमाडौंमा दुईवटा शोरुम रहेको सेग्वेको हेटौंडासँगै पोखरा, इटहरी र विर्तामोडमा पनि शोरुम छ । हेटौंडामा विद्युतीय स्कुटर विक्री गर्ने आधा दर्जन भन्दा बढी शोरुम सञ्चालनमा छन् । बजार क्षेत्रमा विद्युतीय स्कुटर प्रयोगकर्ता पनि बढ्दो क्रममा छ ।











