हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुुरले असोज महिनामा २५ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । असोज महिनामा ३ हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरेर २५ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
असोज महिनामा ९ सय २१ मोटरसाइकललाई कारबाही गरी ६ लाख ६१ हजार रुपैयाँ, ५ सय ५३ ट्रकलाई कारबाही गरी ५ लाख ४२ हजार ५ सय रुपैयाँ, ४ सय ५ वटा बसलाई कारबाही गरी ३ लाख ९० हजार रुपैयाँ, ५ सय ८२ चार पाङ्ग्रे सवारी साधन कारबाहीबाट ४ लाख ४६ हजार रुपैयाँ, तीन पांग्रे सवारी साधन कारबाहीबाट ४ लाख ६२ हजार ५ सय रुपैयाँ र ८२ ट्याक्टरलाई कारबाही गरी ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
असोज महिनामा जिल्ला ट्राफिक कार्यालय मकवानपुरले चाडपर्वको समयमा बढी भाडा लिने १० सवारी साधनलाई कारबाही गरी १९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै मापसे गरी सवारी साधन चलाउने ३९ जनालाई कारबाही गरी ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जनालाई कारबाही गरेर ३ हजार रुपैयाँ जरिवाना गरेको छ ।
ट्राफिक प्रहरीले असोज महिनामा विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । असोजमा ट्राफिक नियम सम्बन्धी पर्चा पम्प्लेट १९ पटकमा ५ हजार थान वितरण गरिएको छ । यस्तै १५ पटक जनचेतनाका लागि माइकिङ गरिएको छ । चाडपर्वलाई लक्षित गरेर ७ स्थानमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको थियो ।
