हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाका व्यापारीहरुले बजारमा तिहारका सामग्रीहरु बिक्री गर्न सुरु गरेका छन् । हिन्दु धर्मावलम्बीको प्रमुख चार्ड मध्यको तिहार नजिकिएसँगै हेटौंडा बजारमा तिहारको चहलपहल सुरु भएको छ ।
बजारमा सर्वसाधारणको चहलपहल बढ्न सुरुभएपछि तिहारको सामग्रीहरु बिक्रीका लागि राखिएको व्यापारी राजेश कुमार बनियाँले जानकारी दिनुभयो । व्यापारीहरुले तिहारमा आवश्यक भाइमसला, प्लाष्टिकका फूल तथा माला, दियो, झिलिमिलि बत्ती, लक्ष्मी भगवानको फोटो, भाइटिका, मैन बत्ती लगायतका सामाग्रीहरु बिक्री गर्न सुरु गरेका छन् । व्यापारीले हेटौंडाको बुद्धचोक, सिमाचोक, राप्तिरोड, बसपार्क लगायतका ठाउँमा सामग्रीहरु बिक्रीका लागि राखेका छन् । भाइटीका आउन अझै केही दिन बाँकी रहेकाले मिठाइका सामग्रीहरु भने बिक्रीका लागि राखिएको छैन ।
व्यापारी राजेश कुमार बनियाँ भन्नुहुन्छ— “उपभोक्ताहरु तिहारका लागि किनमेल गर्न आउन सुरु भएको छ । भोलि शनिबार धन्तेरसदेखि विशेष रुपमा ग्राहकहरुको चहलपहल बढ्ने गर्दछ ।” हरेक वर्ष सामग्रीहरुको मूल्य बढेर आएको उहाँले बताउनभयो । जसमा गत वर्षभन्दा यसवर्ष दैनिक उपभोग्य वस्तुदेखि तिहारका सामग्रीको मूल्य अझ बढी बढेको उहाँको भनाइ छ । करिब ५० रुपैयाँसम्म सामग्रीहरुको मूल्य बढेको उहाँको भनाई छ । प्लाष्टिकका फूलको मालाको मूल्य एक सय ५० रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म रहेको उहाँले जानकारी दिनुभयो । बजारमा मखमली तथा सयपत्री फूलको अभावसँगै प्याष्टिकको फूलको मालाको प्रयोग बढ्दै गएको भन्दै उहाँले माग पनि धेरै रहेको बताउनुभयो । किसानहरुले फूलको खेती कम गरेपछि भारतदेखि प्लाष्टिकका माला ल्याउनु परेको उहाँले बताउनुभयो ।
यसैगरी व्यापारी भरत दास भन्नुहुन्छ — “छिमेकी देश भारतदेखि तिहारका सामग्री बिक्रीका लागि ल्याउने गरेका छौं ।” भाडादर वृद्धिका कारण दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वका सामग्री मंहगिएको उहाँको भनाई छ । एक वर्षमा मात्र करिब ३० प्रतिशतसम्म मूल्य बढेको उहाँको अनुमान छ । विशेष गरी भोली शनिबारदेखि बजारमा ग्राहकहरुको चहलपहल बढ्ने उहाँले बताउनुभयो । हेटौंडा बजारमा जहाँ भिडभाड त्यही व्यापार भन्ने सिद्धान्तमा अहिले व्यापारीहरु केन्द्रित भएका छन् । जसले गर्दा पैदलयात्रीहरु हिँड्ने ठाउँ यतिबेला व्यापारीहरुले कब्जा गर्न थालेका छन् ।
व्यापारी दासले सडकको पेटीदेखि, पुटपाथ सबै क्षेत्रमा खुद्रा व्यापारीहरुले सामग्री बिक्रीका लागि राखेको बताउनुभयो । यस्तै भाइटीकाको लागि मिठाइ, फलफुल र भाइटिका जस्ता सामग्रीहरु सडकपेटीमा बिक्रीका लागि राख्ने गर्दछन् । चाडपर्वका बेलामा भिडभाड हुने गर्दछ । सडकपेटीमा व्यापारीले व्यवसाय गर्दा हिँडडुल गर्न असहज हुने गरेको पैदलयात्रीहरुको गुनासो छ ।
