Home मुख्य समाचार सवारी दुर्घटनाप्रति सचेत बनौं

सवारी दुर्घटनाप्रति सचेत बनौं

नेपालमा सवारी दुर्घटनाको क्रम बढ्दै गएको छ । देशव्यापी पहुँच भएको एकमात्र सडक यातायात क्षेत्रमा दुर्घटना बढ्नु चिन्ताको विषय बनिरहेको छ । सवारी दुर्घटनाका कारण दैनिक सरदर १० जना मानिसले ज्यान गुमाउनु परिरहेको अवस्थामा यसको न्यूनीकरणमा खासै चासो देखिएको छैन । वर्षमा एक–दुई पटक हुने हवाई यातायात दुर्घटनाप्रति जति चिन्ता र चासो व्यक्त गरिन्छ, त्यति सडक दुर्घटनामा पाइँदैन । हवाई दुर्घटनाको समाचारले देश विदेशमा चर्चा र चासो पाउँछ । दुर्घटनाबाट ज्यान गुमाउने व्यक्तिको समाचार बन्छ । हवाई दुर्घटना हुँदा तत्काल छानविन समिति बनाइन्छ । सरकारका उच्चपदस्थ व्यक्तिहरुबाट शोक वक्तव्य जारी गरिन्छ । खोजी तथा उद्दारका लागि हरसम्भव प्रयत्न गरिन्छ । तर, सडक दुर्घटनामात्र सामान्य समाचार बन्छ । यसमा ज्यान गुमाउने मात्र संख्यामा गणना गरिन्छ । दर्जनौंको ज्यान जानेगरी भएका सडक दुर्घटनाको कारण पहिचान गरी समाधानतर्फ सरकारले ध्यान दिँदैन ।

सवारी दुर्घटना पीडादायी हुन्छ । सवारी दुर्घटनाको बारेमा सञ्चारमाध्यममा सामान्य समाचार बनाएरमात्र हुँदैन । सवारी दुर्घटनालाई सामान्य समाचारको रुपमा लिन सकिँदैन । अर्थात् सवारी दुर्घटनाको समाचार वा घटना देखेर, पढेर, सुनेर बिर्सिने कुरा होइन । यस्ता दुर्घटनाको विस्तृत विवरण सार्वजनिक हुनुपर्छ, जसले आम नागरिकले आफ्नो जीवन बचाउन शिक्षा लिन सक्छन् । सवारी दुर्घटना शून्य पार्न सकिँदैन, तर कम गर्न सकिन्छ । दुर्घटनाको सम्भावित जोखिम र कारणबारे सवारी चालक तथा यात्रुलाई जानकारी हुने हो भने यसको न्यूनीकरण सम्भव छ । सडक दुर्घटना न्यूनीकरणका लागि सचेतना दिने उद्देश्यले ट्राफिक प्रहरी, यातायात व्यवसायी, सामाजिक संघसंस्था, सवारी धनी तथा चालकहरुले सडक छेउमा वा आफ्ना सवारी साधनमा निकै मर्मस्पर्सी नाराहरु लेखेको पाइन्छ । यस्ता अनगिन्ती सन्देशहरुको मनन गर्ने हो भने पक्कै मानवीय कारणले दुर्घटना हुने थिएनन् । तर, भनाइ एकातिर, गराइ अर्कोतिर भइदिँदा मुलुकमा हुने सडक दुर्घटनाका अधिकांश घटनामा चालकको लापरबाही वा अन्य मानवीय कारण नै देखिने गरेको छ ।

नेपालमा सडक यातायातको विशेष महत्व छ । नेपालमा यातायात भन्नेवित्तिकै सडक यातायातलाई नै बुझ्ने गरिन्छ । विश्वभर नै हवाई, रेल, जल, रोपवेजस्ता अन्य यातायात सेवालाई जोड्ने सडक यातायात नै हो । नेपालमा पछिल्लो समय सडक यातायातको विकास र विस्तारमा राज्यको ठूलो लगानी पनि भइरहेको छ । संघ, प्रदेश तथा स्थानीय सरकारले बजेटको ठूलो हिस्सा सडक यातायातमै लगानी गर्दै आएको छ । देशभर सडक यातायात सञ्जालको व्यापक वृद्धि र विकास भइरहेको छ । गाउँघरसम्म सडक यातायातको पहुँच बढ्दै गएको छ । सडक र सडकमा गुड्ने यातायात साधनको वृद्धि र विकाससँगै दुर्घटनाको जोखिम पनि उत्तिकै बढिरहेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतना र उपाय अवलम्बन गरिए पनि दुर्घटनाको खबर नसुनेको दिनै हुँदैन । हाम्रो जीवनयात्राको महत्वपूर्ण समय व्यतित हुने सडक र सवारी साधन दुबै सुरक्षित छैनन् । यात्रु, सवारी चालक, यातायात मजदुर, समाज र राज्यका सरोकारवाला निकायहरुको लापरवाहीले सवारी दुर्घटनाबाट धेरैको ज्यान गएको छ । दुर्घटनाको परिणाम जहिले पनि पीडादायी हुन्छ । असमय ठूलो मानवीय क्षमता गुम्छ । त्यसैले अमूल्य जीवनलाई आफ्नै गल्तीले जोखिममा नपारौं । सवारी दुर्घटना र यसबाट हुने क्षतिप्रचि सचेत बनौं ।

Exit mobile version