म्यान अफ द म्याच लिँदै समिर चौलागाईं । तस्वीर : विनोद कुमार बानियाँ

हेटौैंडाः काठमाडौंमा जारी बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मकवानपुर फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा त्रिभुवन विश्वविद्यालयलाई ७ विकेटले पराजित गर्दै मकवानपुर फाइनल प्रवेश गरेको मकवानपुर क्रिकेट संघका कार्र्यवाहक सचिव बिनोेद कुमार बानियाँले जानरकारी दिनुभयो ।

टस जितेर बलिङ गरेको मकवानपुरले त्रिविलाई ५८ रनमा समेटेको थियो । घातक बलिङको प्रदर्शन गरेको मकवानपुरका बलरसामु त्रिविले घुँडा टेक्न बाध्य भएको थियो । मकवानपुरका समिर चौलागाईंले सर्वाधिक ५ विकेट लिँदै त्रिविलाई दबाबमा पारेको थियो । यसैगरी मकवानपुरका राम नरेश गिरी ३ तथा पियुष शर्माले २ विकेट लिएका थिए । त्रिविका लागि सन्देश पँगेनी १९ तथा कप्तान पृथु बास्कोटाले ११ रन बाहेक अन्य ब्याट्स्मेनले दोहोरो रन बनाउन सकेन । ५९ रनको झिनो लक्ष्य पछ्याएको मकवानपुरले १७ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो ।

मकवानपुरका बिशाल फुयाल २१ र तक्षक सिंखडाले १८ रन बनाएका थिए । ५ विकेट लिएका मकवानपुरका समिर चौलागाईं म्यान अफ द म्याच घोषित भए । उनले नगद १८ हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । चौलागाईंलाई मकवानपुरका पूर्व खेलाडी उत्सब सिग्देलले ५ विकेट लिए बापत १० हजार , म्यान अफ द म्याच बापत ३ हजार र सौरभ आचार्यले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । अब मकवानपुरले बिहीबार काठमाडौं र ललितपुरबीच हुने खेलका विजेतासँग शुक्रबार उपाधिका लागि खेल्नेछ ।