Home मुख्य समाचार समानुपातिकमै सिमित महिलाको राजनीति

समानुपातिकमै सिमित महिलाको राजनीति

सांकेतिक चित्र ।

हेटौंडाः नेपालको संविधानको धारा ८४ को उपधारा ८ मा संसदमा कम्तिमा एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको भएपनि महिलालाई नेतृत्व दिन राजनीतिक दलहरुले कन्जुस्याँइ गरेका छन् । राजनीतिक दलहरुले राजनीतिमा महिलाको दरिलो उपस्थिति हुँदा हुँदै पनि महिलाप्रति विश्वास गर्न सकेका छैनन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला नेतृत्वप्रतिको दलहरुको अविश्वास, तालमेल र गठबन्धनका नाममा महिलालाई उम्मेदवार हुनबाट यसपटकको निर्वाचनमा पनि वञ्चित गरिएको छ । जसका कारण महिलाको संसदमा ३३ प्रतिशत उपस्थिति पुर्याउन समानुपातिककै भर पर्नुपर्ने भएको छ ।

२०७० सालको दोस्रो संविधानसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार निर्वाचित महिला सदस्य १० जना मात्र थिए । जसकारण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित १ सय ५९ जना र मन्त्रिपरिषदबाट मनोनित ४ गरी कुल १ सय ७६ जना महिला सदस्यहरुको प्रतिनिधित्व रहेको थियो । प्रतिनिधित्वको हिसाबले यो संख्या कूल सदस्य संख्याको २९ दशमलब २८ प्रतिशत रहेको थियो । यस्तै, २०७४ सालमा भएको संघीय संसदको प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ६ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ८४ जना गरी कूल ९० जना महिला सदस्यहरुको प्रतिनिधित्व रहेको थियो । प्रतिशतको हिसाबले यो ३२ दशमलब ७३ प्रतिशत हुन आउँछ । संविधानसभा–१ मा महिला सदस्यहरुको प्रतिनिधित्व ३२ दशमलब ७८ प्रतिशत रहेको थियो भने दोस्रो संविधान सभामा महिला सदस्यहरुको प्रतिनिधित्व २९ दशमलब २८ प्रतिशत रहेको देखिन्छ । २०७२ असोज ३ गते संविधान सभाबाट निर्माण भई जारी गरिएको नेपालको संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसदमा कम्तिमा एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यसरी नीति निर्माणको माथिल्लो तह संसदमा समानुपातिकबाटै भएपनि महिलाको सहभागिता क्रमश बढ्दै गएको देखिन्छ । यो क्रम यस वर्षको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा पनि दोहोरिएको छ ।

मकवानपुरबाट प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा क्षेत्र नम्बर १ मा ४१ र क्षेत्र नम्बर २ मा २८ गरी ६९ जनाको उम्मेदवारी परेको छ । जसमा राजनीतिक दलको तर्फबाट महिलाको संख्या न्यून छ । नेपाली कांग्रेसले मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभाबाट महालक्ष्मी उपाध्याय डिनालाई उम्मेदवार बनाएको छ । यस्तै, माओवादी केन्द्रले प्रदेश सभामा कुमारी मोक्तानलाई उम्मेदवार बनाएको छ । अन्य महिला उम्मेदवारहरुले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मकवानपुरमा प्रत्यक्षतर्फ ८ जना महिलाहरुको उम्मेदवारी परेको छ ।

प्रतिनीधिसभाको बन्द सूचीमा मकवानपुरका ५० जना उम्मेदवार रहेकोमा ३० जना महिला छन् । यसमा पनि प्रमुख राजनीतिक दलभन्दा पनि साना राजनीतिक दलबाट महिलाको उपस्थिति धेरै रहेको देखिन्छ । प्रतिनिधिसभाको बन्द सूचीमा नेपाली काँग्रेसले नगिना यादवलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्दिरा न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अमला देवी श्रेष्ठ र कल्पना विश्वकर्मा, नेपाली काँग्रेस बीपी रिता कुमारी खनाल, चुनु कुमारी दमाइ र राम कुमारी घलान समानुपातिकमा छन् । यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल शशी कुमारी पौडेल, नेपालका लागि नेपाली पार्टी शान्ती कुमारी रेग्मी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बिबि माया स्याङ्तान, नेपाल मजदुर किसान पार्टी सुन्तली माया लोप्चन तामाङ उम्मेदवार छन् ।

त्यसैगरी, विवेकशील साझा पार्टी सोभिता परियार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) सुनिता चौधरी, नेपाल जनता पार्टी सोम माया डिम्डुङ, मान कुमारी भोम्जन, हिरा देवी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी बिन्दबासीनी कंशाकार, सुनिता राई, सीता थापा रहेका छन् । राप्रपा नेपालबाट शान्ति बुलुन, राधिका श्रेष्ठ, अम्बिका कुमारी र सुमित्रा कठायत, नेपाली जनता दल सम माया गमाल, नेपाल लोकतान्त्रिक पार्टी गंगा कुमारी मोक्तान, नेपाल दलित पार्टी रमिला आचार्य, जानुका देवी दुलाल, लक्ष्मी गोपाली र रन्जिता विश्वकर्मा, जन समाजवादी पार्टी नेपाल पार्वती पुलामी मगर रहेका छन् । यस्तै, प्रदेश सभाको समानुपातिकमा मकवानपुरबाट ३० जना नै बन्दसूचीमा परेका छन् । प्रदेश सभाको बन्द सूचीमा पनि प्रमुख राजनीतिक दलको तुलनामा साना राजनीतिक दलबाट महिला उम्मेदवारहरु धेरै रहेका छन् ।

प्रदेशसभाको समानुपातिकमा मंगोल नेशनल अर्गनाइजेशनबाट मनिषा पहेली, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सरस्वती बर्तौला, लोकतान्त्रिक समाजवादी पार्टी मेरिना लामा, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन रजीता पुलामी मगर, नेकपा एमालेबाट भारती कुमारी पाठक र हर्कमाया रुम्बालाई उम्मेदवार बनाएको छ । यस्तै, नेकपा मालेले मनिता सुनार, नेश्नलिष्ट पिपल्स पार्टीबाट विचार पार्वती राई, नेपाली काँग्रेस(विपी)बाट जानुकी लामा, नानी मैया तामाङ, विमली परियार र अनिता स्याङ्तान भ्लोन, राप्रपा नेपाल बिमला लामा, सविना स्याङ्तान, इन्द्रा कुमारी बस्नेत, कल्पना कुमारी रिमाल, अन्जु विश्वकर्मा र रजनी श्रीवास्तवलाई उम्मेदवार बनाएको छ ।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपाल रिता रुम्बा, नेपाल जनता पार्टी खेम कुमारी नेपाल, एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडाबाट लक्ष्मी गोले, पूर्णिमा दोङ, एकल निर्वाचन चिन्ह गितार लिएका सुमित्रा श्रेष्ठ, शान्ती लामा, जनजागरण पार्टी नेपालबाट निम टोलमा पुर्णमाया राना रहेका छन् । त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल ललिता माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रजनी श्रीवास्तब, नेपाली कांग्रेसबाट इन्दिरा न्यौपाने, जानकी तामाङ, कृष्णा कुमारी गुप्तालाई उम्मेदवार बनाएको छ ।

पछिल्लो समयमा महिलाहरु पनि राजनीतिमा अगाडी आउन कसरत गरिरहेको सन्दर्भमा राजनीतिक दलहरुले महिलालाई दबाउन खोजेको जस्तो देखिन्छ । प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूले महिलालाई न्यून मात्र टिकट दिएर उम्मेदवार बनाएका छन् । निर्वाचन अति खर्चिलो भएका कारण महिलाले आफूहरुलाई समानुपातिकमै सुरक्षित महसुस गरेर त्यसैका लागि बढी दौडधुप गरिरहेका छन् ।

Exit mobile version