महिला प्रहरीसँग अन्तरक्रिया गर्दै ।

हेटौंडाः ६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच उहाँले महिला प्रहरी, कार्यालय सहयोगी र पूर्व प्रहरीसँग अन्तरक्रिया गरी गुनासो सुन्नुभएको छ ।

महिला प्रहरी कर्मचारी र प्रहरी कार्यालय सहयोगीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा कार्य सम्पादनको क्रममा देखिएका समस्याको बारेमा गुनासो गरेका थिए । अन्तरक्रिया कार्यक्रममा भौतिक रुपमा सहभागी हुन नसकेका प्रहरी कर्मचारीहरुको गुनासो प्रदेश प्रहरी प्रमुख बज्राचार्यले टेलिफोन माध्यमबाट समेत लिनुभएको थियो । मनासिव समस्याको तत्काल समाधान गर्न प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले निर्देशन समेत दिनुभएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले प्रहरी संगठन भनेको सबैको सामुहिक प्रयासले मात्र अघि बढ्न सक्ने संस्था भएकाले संगठनका सबै सदस्य आफ्नो कर्तब्यप्रति लगनशील र ईमान्दार हुनुपर्ने बताउनुभएको छ । कानूनले समेत महिलाको पक्राउ तथा खानतलासी गर्न अनिवार्य महिला प्रहरी कर्मचारीको व्यवस्था गरेकाले महिला प्रहरी कर्मचारीले पनि हामी संगठनका आवश्यकता हौँ भन्ने बुझ्नुपर्ने धारणा राख्नुभयो । प्रहरी कार्यालय सहयोगी भनेको संगठनको जग भएकाले जग बलियो भएमात्र संगठन बलियो हुने उहाँको भनाई थियो । कार्यालयको कामको अलावा आफ्नो फूर्सदको समयलाई प्रहरी कर्मचारीहरुले रचनात्मक कार्य गरेर बिताउनुपर्ने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यको धारणा छ ।

यसैगरी नेपाल पूर्व प्रहरी संगठनहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले पूर्व प्रहरी कर्मचारी नेपाल प्रहरीको सूचनाको स्रोत र नेपाल प्रहरीको गरिमामय ईतिहासको प्रमुख हकदार भएकाले निरन्तर समन्वय गरिरहने बताउनुभयो । यस वर्षको प्रहरी दिवसमा सबैभन्दा जेष्ठ पूर्व प्रहरी कर्मचारीलाई सम्मान गरिने समेत उहाँले बताउनुभयो । नेपाल प्रहरीका सदस्य सेवानिबृत्त भएपछि बिभिन्न किसिमका मानसिक समस्याहरु समेत देखिने भएकाले उनीहरुको सेवानिबृत्त जीवनलाई रचनात्मक बनाउन बिभिन्न सीप प्रदान गर्नका लागि आवश्यक प्रबन्ध मिलाउने समेत प्रदेश प्रहरी प्रमुख बज्राचार्यको भनाई छ । बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमको सहजीकरण बागमती प्रदेश प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गर्नुभएको थियो । आगामी असोज ३१ गते नेपाल प्रहरीले प्रहरी ऐन २०१२ जारी भई नेपाल प्रहरीको विधिवत स्थापना भएको ६७ वर्ष पुगेको अवसरमा बिभिन्न कार्यक्रम गरी ६७ औँ प्रहरी दिवस मनाउन गईरहेको छ ।