हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुबै क्षेत्रका उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयलले निर्वाचन चिह्न दिएकोे छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान १० बजे देखि ३ बजेसम्म मनोनयन फिर्ता लिने समय राखेकोमा उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको हो ।
मकवानपुरमा आगामी निर्वाचनका लागि प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका १६ जना र क्षेत्र नम्बर २ मा १० जनाको नामावली प्रकाशन गरिएको छ । यस्तै, प्रदेशसभातर्फ मनोनयन दर्ता गरेका मकवानपुर क्षेत्र नम्बर १ को (क) मा १० जना र (ख) मा १५ जनाको नामावली प्रकाशन गरिएको छ । मकवानपुर क्षेत्र नम्बर २ को (क) मा ८ जना र (ख) मा १० जनाको नामावली प्रकाशन गरिएको थियो ।
राजनैतिक दलहरुलाई पार्टीकै निर्वाचन चिह्न र स्वतन्त्रहरुलाई अन्य निर्वाचन चिह्न प्रदान गरिएको छ । क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवारी प्रदिप कालाखेतीलाई क्रस खुकुरी चुनाव चिह्न प्रदान गरेको छ । “क” बाट प्रदेशसभाका सदस्य स्वतन्त्र उम्मेदवार पदम बहादुर लामाले पानीको धारा, प्रमोद गोपालीले जेब्रा र सगुन कुमार ढकालले ठेकी निर्वाचन चिह्न प्राप्त गरेका छन् । यस्तै “ख” बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार खुशी लाल प्रजालाई बिजुलिको चिम, रामहरी सुवेदिलाई पानीको धारा, शान्ती दाहाललाई स्कुटर निर्वाचन चिह्न प्रदान गरेको छ ।
क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवार आईतराम तामाङलाई क्रस खुकुरी र सुभाष पौडेललाई जुवा चुनाव चिह्न प्रदान गरेको छ । प्रदेशसभा सदस्यतर्फ “क” मा स्वतन्त्र उम्मेदवार जिवन गोलेलाई केराको काईयो र ठेड बहादुर पुजारी मगरलाई पानीको धारा चुनाव चिह्न प्रदान गरेको छ । “ख” मा स्वतन्त्र उम्मेदवार कमला गौतमलाई ह्विल चियर, कृष्ण के.सी. लाई लालटिन, निर्मला गौतमलाई ठेकी, प्रकाश घिमिरेलाई ट्रफी, लक्ष्मी अधिकारी लामिछानेलाई स्कुटर र लक्ष्मी गुरुङलाई जेब्रा चुनाव चिह्न प्रदान गरिएको छ ।











