लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण जटिल बन्दै गएको छ । करिब ३ महिनादेखि मकवानपुरलगायत देशव्यापी डेंगु संक्रमण बढ्दै गएको भए पनि यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन । सरकार तथा राजनीतिक दलहरु आसन्न निर्वाचनमा केन्द्रित हुँदा डेंगु नियन्त्रणप्रति खासै ध्यान जान सकेको छैन । स्थानीय सरकार पनि डेंगु नियन्त्रणप्रति गम्भीर देखिएको छैन । डेंगु परीक्षणका लागि केही किट उपलब्ध गराउने र माइकिङ गर्नेबाहेक हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुरका स्थानीय तहहरुले डेंगु नियन्त्रणमा उल्लेख्य काम गर्न सकेका छैनन् । दिनहुँ सयौंको संख्यामा बढ्दै गएको डेंगु संक्रमितले अस्पतालहरु भरिँदासमेत यसको नियनत्रणप्रति कतैबाट चासो र चिन्ता नहुनु विडम्बना बनेको छ ।
मंगलबारसम्म मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या ३ हजार ६ सय ४ जना पुगेको छ । साउन १ गतेदेखि मकवानपुरमा २ हजार २१ जना पुरुष र एक हजार ५ सय ८३ जना महिलामा डेंगु संक्रमण देखिएको हो । जिल्लामा देखिएको संक्रमणमध्ये हेटौंडा उपमहानगरपालिकामा ८३ प्रतिशत डेंगु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा छ । देशभर देखिएको संक्रमितमध्ये १० प्रतिशतभन्दा बढी मकवानपुर जिल्लामा छन् । सोमबारसम्म देशभर ३३ हजार ९ सय ७५ जनामा डेंगु संक्रमण भएको तथ्यांक छ । नेपालमा सर्वप्रथम सन् २००४ मा डेंगु संक्रमित भेटिएको थियो । त्यसयता हरेक वर्ष डेंगु संक्रमित भेटिने गरेको भए पनि यस वर्ष संक्रमण व्यापक बनेको र लामो समयसम्म यसको संक्रमण रहेको पाइएको छ । विशेषगरी वर्षाको समयमा देखिने डेंगु संक्रमण वर्षा अन्त्य नभएका कारण पनि जटिल बनिरहेको हो ।
साउनदेखि मंगलबारसम्म हेटौंडा उपमहानगरपालिकामा ३ हजारभन्दा धेरैमा डेंगुको संक्रमण देखिएको छ । मंगलबारमात्रै हेटौंडा उपमहानगरपालिकामा २ सय ३ जनामा संक्रमण देखिएको थियो भने बुधबार १ सय ४४ जनामा संक्रमण देखिएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये इन्द्रसरोबर गाउँपालिकामा एक जनामा मात्र डेंगु संक्रमण देखिएको छ । चिसो मौसम भएको क्षेत्र भए पनि थाहा नगरपालिकामा १ सय २८ जनामा डेंगु संक्रमण देखिनु थप चिन्ताको विषय बनेको छ । जिल्लाका मकवानपुरगढी गाउँपालिकामा ५५, बागमती र कैलाश गाउँपालिकामा ६/६ जनामा डेंगु संक्रमण भएको छ । हेटौंडापछि सबैभन्दा बढी मनहरी गाउँपालिकामा ३ सय २३ जनामा संक्रमण देखिएको छ । यस्तै, भीमफेदीमा २८, बकैयामा २३, राक्सिराङमा ९ जनामा डेंगु संक्रमण भएको छ । ठेगाना नखुलेको २० जना र अन्य जिल्लाका ५ जनामा पनि डेंगु संक्रमण देखिएको छ ।
पानी परिरहेका कारण अझै एक महिना डेंगुको संक्रमण फैलने खतरा कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइले यसको नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । डेंगु नियन्त्रणका लागि तीनै तहको सरकारबीच प्रभावकारी समन्वय हुनुपर्छ । अझ स्थानीय सरकारले बढी चासो र चिन्ता देखाउनु आवश्यक छ । विगतका वर्षहरुमा तराईका केही शहरमा देखिने गरेको डेंगु संक्रमण देशव्यापी बन्दा स्थिति जटिल बनेको हो । डेंगु देखापरेको सुरुवाती चरणमा नै यसको नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारले प्रभावकारी कदम चाल्न नसकेका कारण यसको नियन्त्रण जटिल बन्दै गएको हो । मकवानपुरमा एकसहित देशभर ४ दर्जनको हाराहारीमा डेंगु संक्रमणबाट मृत्यु भइसकेको अवस्थामा डेंगु नियन्त्रणका लागि प्रभावकारी काम गर्नु आवश्यक छ ।
