हेटौंडाः बागमती प्रदेशमा विभिन्न घटनामा एकै दिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट, धादिङ, सिन्दुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा विभिन्न घटनामा ६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
शनिबार नुवाकोटको बिदुर नगरपालिका–४ बसपार्कमा एक शव फेला परेको छ । त्रिसुली नदिको किनारमा सनाखत नभएको अन्दाजी ५५ वर्षीया महिला फेला परेको प्रहरीले जनाएको छ । यस्तै, धादिङको गल्छि गाउँपालिका–६ चिरौदिपुलमा कारले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ ।पृथ्विलोकमार्गमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा १८ च ४९३५ नम्बरको कारले पैदल यात्री ५२ वर्षीया बिनामाया आचार्यलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी बिनाको अम्बेभरोसा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, धुनेवेशी नगरपालिका–४ छापागाउँमा पहिरोले पुरिएर एक जनाको ज्यान मृत्यु भएको छ । छापागाउँका ५७ वर्षीय सेते मिजारको कच्ची घरको आंगन पहिरोले पुरिँदा उहाँको शव पुरिएको अबस्थामा फेला परेको हो । शवको मुचुल्कापश्चात् पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाएको प्रहरीले जनाएको छ ।
सिन्दुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ डडुवामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । वन्देउ चौतारा सडक खण्डमा काठमाडौंबाट चौतारा तर्फ आउँदै गरेको बा २ ख ३३४७ नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ५४१५ नम्बरकोे कार अनियन्त्रित भइ ठोकिँदा कार चालक साँगाचोकगढी–११ का ४८ वर्षीय रामशरण गिरी सामान्य घाईते भई स्थानिय मेडिकल साँगाचोकमा सामान्य उपचारपश्चात् गम्भीर भएपछि थप उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो । गिरीको नाकबाट रगत बगेकोले पाटन अस्पताल ललितपुरमा पुर्याइएको थियो । उपचारको क्रममा गिरीको मृत्यु भएको हो ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ चयनपुरमा एक पुरुषकोे शव फेला परेको छ । बागमती खोलाको बिच भंगालोमा हाल नामथर वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष व्यक्तीको शव रहेको प्रहरीले जनाएको छ । प्रहरीले शव पानीको वहाबबाट निकाली पोष्टमार्टमको लागि प्राथमिक स्वस्थ्य केन्द्र कपिलाकोटमा पठाएको हो । मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ घर भई हाल ससुराली राक्सिराङ गाउँपालिका–९ धुरु बस्दै आएका ४० वर्षीय मनोज राई रहेकोे प्रहरीले जनाएको छ । शुक्रबार साँझ ससुराली घरबाट मादक पदार्थ सेवन गरी आफुखुसी निस्किएका मनोज अबेरसम्म नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । शनिबार बिहान साढे ८ बजेको समयमा ससुराली घरदेखि करिब दुई किलोमिटर दक्षिण धुरु भिरबाट लडेर मृत अवस्थामा मनोज भेटिएको हो ।










