हेटौंडाः बागमती प्रदेशका विभिन्न जिल्लामा शुक्रबार विभिन्न घटनामा ६ जनाको मृत्यु भएको छ । नुवाकोटमा २ जना, मकवानपुर, सिन्धुली, धादिङ र चितवनमा एक/एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नुवाकोट जिल्लाको शिवपुरी गाउँपाकिला–६, फेदीगाउँमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घर पोत्ने क्रममा शुक्रबार साँझ ७ बजेर ३० मिनेटको समयमा करेन्ट लागेर ६५ वर्षीय ईन्द्र बहादुर पाठक गम्भीर घाइते भएका थिए । काठमाडौंको बि.पि. हस्पिटलमा उपचारको क्रममा राती ८ बजेर २५ मिनेटको समयमा पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङ जिल्लाको थाक्रे गाउँपालिका–४, लितिपोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा पोखरीमा डुबेर बेहोस भएका १४ वर्षीय सञ्जय गोलेको उद्दार गरी उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । उपचारको क्रममा गोलेको शुक्रबार साँझ ७ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–४, सिम हायुटारमा चट्यााङ लागेर एकजनाको मृत्यु भएको छ । आफ्नै घरमा रहेको धान कुट्ने मिल चलाइरहेका ६८ वर्षीय जित बहादुर लोलाई शुक्रबार दिनको ४ बजेर ५० मिनेटको समयमा चट्याङ लागेको थियो । चट्याङ लागेर लोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, सुब्बाचोकमा टाँडीबाट सुब्बाचोकतर्फ जाँदै गरेको ना ४८ प ४५८४ नमबरको मोटरसाइकल र जयमंगलाबाट खानेपानी ट्याङ्कीतर्फ बाटो क्रस गर्दै गरेको बा १७ च ७७७७ नम्बरको कार एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो । शुक्रबार बिहान १० बजेर १० मिनेटको समयमा दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर–१४, लौरीघोलका ५१ वर्षीय राम बहादुर गुरुङ र मोटरसाइकलमा पछाडि बसेर यात्रा गरिरहेका गुरुङकी श्रीमती ४० वर्षीया सुमित्रा गुरुङ घाइते भएका थिए । घाइते सुमित्राको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहान १० बजेर ५५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५, तीनतलेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धरान–चतरा अन्तर्गत हेटौंडाबाट जुरेलीतर्फ जाँदै गरेको ना ७ त ५०७२ नम्बरको खाली ट्याक्टरमा सवार बकैया–५, श्रीपुरका २३ वर्षीय सुमन लो गुडिरहेको ट्याक्टरबाट अचानक खसेका थिए । ट्याक्टरबाट खसेरका लोलाई पछाडिको टेलरको चक्काले किचेर गम्भीर घाईते भएका थिए । लोलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा लोको बिहान ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१३, डाँडाटोलमा ५४ वर्षीय कृष्णे दमाई आफ्नै घरमा झुडिएर मृत्यु भएको अवस्थामा भेटिएका थिए । शुक्रबार दिनको ४ बजेको समयमा दमाई मृत फेला परेका हुन् ।