हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविका पूर्वविद्यार्थी टिकाराम लामाले पूर्वविद्यार्थीहरुको संस्था श्रमिक क्रियाशील विद्यार्थी समूहलाई २० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । आफूले विद्यालय तहको अध्ययन पूरा गरेको विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने उद्देश्यले स्थापित समूहले गर्ने रचनात्मक कार्यमा सहयोग पुग्ने अपेक्षासहित लामाले शनिबार बिहान सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । लामा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष हुनुहुन्छ ।
श्रमिक क्रियाशील विद्यार्थी समूहले शनिबार बिहान विद्यालयमै आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि लामाले सहयोग रकम समूहकी अध्यक्ष सपना लामालाई हस्तान्तरण गर्नुभएको हो । श्रमिक क्रियाशील विद्यार्थी समूहले चालु शैक्षिक सत्रमा श्रमिक माविमा अध्ययनरत २१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
केही समयअघि मात्रै श्रमिक क्रियाशील विद्यार्थी समूहले विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको शिक्षकको पारिश्रमिकका लागि ५० हजार रुपैयाँ सहयोग गरेको थियो । श्रमिक क्रियाशील विद्यार्थी समूहका सदस्यले मासिक २ सय रुपैयाँ अथवा वार्षिक एक हजार रुपैयाँ सहयोग संकलन गर्ने गरेको छ । शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष रिता दाहाल, प्रधानाध्यापक श्रीराम दाहाल, सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष अजीव भट्टराईको पनि आतिथ्य रहेको थियो ।