नवदुर्गा भगवानको पूजाको लागि हेटौंडा ९ औद्योगिक क्षेत्र अगाडी बनाईएको मन्दिर ।

हेटौंडाः नेपालीहरुको मुख्य चाड बडादशैंको आज शनिबार छैटौं दिन हो । छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदैछ । आश्विन शुक्ल षष्ठीका दिन चार हात भएकी सिंहमा विराजमान देवी कात्यायनीको पूजा आराधना गरिन्छ ।

यस वर्षको दशैंको विजयादशमी असोज १९ गते बुधबार परेको छ । टीकाको उत्तम साइत बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजयादशमीको दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको शुभसाइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन उत्तम हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा जारी सूचनामा उल्लेख छ ।

दशैंको सातौं दिन भोलि आइतबार फूलपाती परेको छ । यस दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको रहेको समितिले जनाएको छ । असोज १७ गते सोमबार महाअष्टमी र सोही राति कालरात्रि परेको छ । असोज १८ गते मंगलबार महानवमी र असोज १९ गते बुधबार विजयादशमी रहेको छ । दशैंको अन्तिम दिन असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा परेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन दशैं मनाइन्छ । यसवर्षको दशैं गत सोमबार घटस्थापनाबाट सुरु भएको हो । घटस्थापनका दिन हरेक घरको पूजाकोठा तथा शक्तिपिठहरुको जमरा घरमा घटस्थापना गरेर जमरा राख्दै दशैं भित्र्याइने गरिन्छ ।

घटस्थापनादेखि नवमीसम्म प्रत्येक दिन दुर्गाको एक–एक स्वरुपको पूजा आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।