गुगल तस्विर ।

हेटौंडाः बागती प्रदेशमा विभिन्न घटनामा परि एकै दिन ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको ३ जना र चितवनको २ जना रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मंगलबार साँझ ५ बजेको समयमा गजुरी गाउँपालिका–१, त्रिशुली नदीमा एक महिलाको शव फेला परेको छ । गजुरी आर्मी ब्यारेक पछाडिबाट चामडाँडा जाने झोलुङ्गे पुलबाट गजुरी बजार बस्ने जयन्त सेडाईको श्रीमती ३३ वर्षीया रमा श्रेष्ठ त्रिशुली नदीमा हामफाली बेपत्ता भएकी थिइन् । नदीमा ढुङ्गामा अड्किएको अवस्थामा श्रेष्ठको लाश फेलापारी मुचुल्का तयारपश्चात् पोष्टमार्टमका लागि गजुरी पठाइएको प्रहरीले जनाएको छ ।

धादिङको धुनिवेशी नगरपालिका–३, धोवीखोलामा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । जीवनपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख १६६१ नम्बरको बसले ठक्कर दिँदा लक्ष्मण पौडेलको करिब २ वर्षीय छोरा ललित पौडेल घाइते भएका थिए । घाइते बालकको उपचारको क्रममा साढे ११ बजे काठमाडौंको बीएण्डबी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, धादिङकै उमाकुण्ड गाउँपालिका–२, राङ्दामा एक पुरुषको शव फेला परेको छ । लिखु खोलाको बीच भागमा नामथर वतन नखुलेको टाउको नभएको सडीसकेको अवस्थामा अन्दाजी ३५/४० वर्षको देखिने पुरुषको लाश फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङसमेतको प्रहरी टोलीले स्थानीय वडा अध्यक्षको रोहबरमा मुचुल्का तयार पारी सडेको लाशको सद्गत गरिएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीमा मानिस मृत अवस्थामा फेला परेको हो । ६० वर्षीय कुलबहादुर गुरुङ माछा मारेको हेर्न जान्छु भनि गएकोमा जुगेडी बजारदेखि तल नारायणी नदी जाने खोल्सामा घोप्टो परी बेहोस अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

यस्तै, चितवनका एक डेंगु पोजेटिभ महिलाको मंगलबार ज्यान गएको छ । चितवन मेडिकल कलेजमा उपचाररत चितवनको राप्ती नगरपालिका–७ बस्ने ४० वर्षीया नुजा श्रेष्ठको ज्यान गएको हो । श्रेष्ठको स्वास्थ्यमा समस्या आएपछि ९ गते मौलाकालिका पोलिक्लिनिक वीरेन्द्रनगरमा परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।