हेटौंडा १० को बसपार्कमा संचालनमा ल्याईएको यात्रु तथा नागरिक सहायता कक्ष ।

हेटौंडाः बागमती प्रदेश प्रहरीले चाडपर्व (बडा दशै, शुभ दिपावली र छठ) लक्षित विशेष सुरक्षा योजना अनुरुप सोमबार यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा बढि भिडभाड हुने तथा आम नागरिकलाई यात्रामा असहजता हुनसक्ने कुरालाई मध्यनजर गर्दै बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएको हो ।

कार्यक्रमअन्तर्गत् मकवानपुर जिल्लामा ८ वटा, चितवन जिल्लामा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुली जिल्लामा ५ वटा गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी एकैपटक संचालनमा ल्याईएको हो । बागमती प्रदेश अन्तर्गतका व्यस्त बसपार्क तथा बढि भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरीसहितको सहायता कक्ष स्थापना गरिएको हो ।

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरीसहित १ सिफ्टमा १ सय ५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको छ । यात्रा गर्दा तथा आफुलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु तथा नागरिक सहायता कक्षमा सम्पर्क राखि सोधपुछ गरी आफ्नो समस्या समाधान गर्न नागरिकहरुलाई बागमती प्रदेश प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।