साधारणसभामा सहभागी अतिथिहरु ।

हेटौंडाः हेटौंडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक बर्ष २०७९/८० मा ४८ करोड रुपैयाँ बचत संकलन गर्ने लक्ष्य लिएको छ । आज सम्पन्न १६ औं वार्षिक साधारणसभाको अवसरमा सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलले सहकारीको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै सेयर सदस्य ३ हजार पुर्याउने लक्ष्य लिएको जानकारी दिनुभयो ।

यस्तै सहकारीले सेयर पुँजी ६ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ भने ऋण लगानी ५८ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । सहकारीले गत आर्थिक वर्ष २०७८/७९ मा ५० करोड रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो । साधारणसभामा सहकारीका असल बचतकर्ता, असल ऋणी, ज्येष्ठ सदस्य, सेयर सदस्य परिवारबाट एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ ।